खेर्सन कब्जा गरेको रुसी दाबी, रुसी सेनाका ४ हेलिकप्टर र एउटा विमान खसालेको युक्रेनी दाबी
काठमाडौं । रुसको रक्षा मन्त्रालयका एक प्रवक्ताले युक्रेनको दक्षिणी खेर्सन क्षेत्र रुसी सेनाको पूर्ण नियन्त्रणमा आएको दाबी गरेका छन्। इन्टर्फ्याक्स-एभीएन समाचारसंस्थाले उनलाई उद्धृत गर्दै रुसले खेर्सन आफ्नो कब्जामा लिएको समाचार प्रकाशित गरेको छ।
केही दिनअघि खेर्सनवासीहरूले रुसी अतिक्रमणको विरोधमा प्रदर्शन गरेका थिए। उनीहरूलाई चेतावनी दिन रुसी पक्षले हावामा गोली चलाएको देखिएको थियो।
अर्कोतर्फ युक्रेनी सेनाले दैनिक बिहान दिने जानकारीमा रूसी सेनाको ४ हेलिकप्टर र १ विमान खसालेको दावी गरेको छ । युक्रेनी सेनाको दावीअनुसार युक्रेनी भूमिमा हात पारेको उपलब्धि व्यवस्थापन गर्न रुसी सैनिकहरू केन्द्रित भएका छन् र अगाडि बढ्न असफल भएका छन् ।
युक्रेनको सेनाले भनेको छ ‘ रुसी सैनिकहरूले संवेदनशील संरचनाहरूमा क्षेप्यास्त्र र बम प्रहार गर्न जारी राखेका छन् । रुसी सेनाले कब्जा गरेका भूभागहरू आफ्ना घाइते सैनिकलाई उपचार गर्न प्रयोग गरिरहेको छ । युक्रेनी सेनाले रुसका चारवटा हेलिकप्टर, एउटा विमान र एउटा क्रूज मिसाइल खसालेको छ ।’
युक्रेनी सेनाले अगाडि भनेको छ ‘दक्षिणी तटीय सहर मरिऊपोललाई कब्जा गर्ने रुसी प्रयासलाई युक्रेनले निस्तेज पारिदिएको छ र ब्ल्याक सी क्षेत्रमा रुसद्वारा थप जलसेना पठाउने कुनै सङ्केत देखिएको छैन । रुसी सैनिकहरूको नैतिक बल र मनोवैज्ञानिक अवस्था एकदमै कमजोर देखिएको छ र रुसी सैनिकहरूले नेतृत्व गर्न अस्वीकार गरिरहेका छन्।’







डिसी नेपाल







Facebook Comment