राजनीतिलाई पैसा कमाउने थलो बनाइयो : विजक्छें

डिसी नेपाल
२ चैत २०७८ ८:०८
40
Shares

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शासक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने थलोको रुपमा विकास गरेको आरोप लगाएका छन्। उनले यही कारण देश झन् गरिब हुँदै गएको र भ्रष्टाचार बढिरहेको बताए।

भक्तपुर नगरपालिका-१० स्थित लान्चा फल्चाको मंगलबार उद्घाटन गर्दै उनले शासक दलका नेतामा काठमाडौं उपत्यकाको कुनै विकास योजना नभएको दावी गरे। अध्यक्ष बिजुक्छेँले जनतालाई धोखा दिने शासक दलका नेतालाई चुनावमा जिताउन नहुने बताए।

अध्यक्ष बिजुक्छेँले रुस र युक्रेनबीचको लडाइँको प्रसंग जोड्दै देउवा सरकारले संयुक्त राष्ट्र संघमा रुसले युक्रेनमा आक्रमण गर्यो भन्ने पक्षमा मत दिनु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत भएको बताए । उनले एमसीसी सम्झौता अनुमोदनलगत्तै सरकारले नेपाललाई पनि नाटो संगठनको सदस्य बनाउने तर्खरमा शासक दलहरु क्रियाशील रहेको बताए।

नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सम्पदा पुनःनिर्माण ठेकेदारभन्दा उपभोक्ता समितिमार्फत नै गराउनुपर्नेमा जोड दिए। पैसा र आश्वासन बाँडेर चुनाव जित्ने जनप्रतिनिधिले जनताको सेवालाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्नेतर्फ जनता सचेत हुनुपर्ने भन्दै सांसद सुवालले एमसीसी सम्झौता नेपालको लागि सहयोगको नाममा आएको विषसरह भएको बताए।

भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुर नपाले जनताको लागि जनताकै सहयोगमा यहाँका सम्पदा संरक्षण गरिरहेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.