पोल्याण्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्रीले युक्रेन पुगेर के भने ?

डिसी नेपाल
२ चैत २०७८ १३:३४
140
Shares

काठमाडौं। पोल्याण्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्रीहरु युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र प्रधानमन्त्रीसँग छलफल गर्नको लागि युक्रेनको राजधानी किभ पुगे । भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण विरुद्ध समर्थन दिनको लागि यति लामो यात्रा गरेर आएकोमा तीनै जना प्रमुखलाई धन्यवाद दिए । तीनै देशका प्रमुखहरुले राष्ट्रपति जेलेन्स्कीसँग मंगलबार बेलुकी भेटवार्ता गरे । त्यतिबेला किभमा कर्फ्यु पनि सुरु भएको थियो ।

बैठकपछि चेक रिपब्लिकका प्रधानमन्त्रीले युक्रेनी नागरिकहरुसँग उनीहरु एक्लै नभएको बताए । तीन देशका प्रधानमन्त्री रुसको आक्रमणपछि युक्रेनको यात्रा गर्ने पहिलो पश्चिमी नेता हुन् । उनीहरु ट्रेनमा युक्रेन पुगेका हुन् । चेक रिपब्लिकका प्रधानमन्त्री पेत्र फिलायाले युक्रेनी जनताको लागि ट्वीट गरे ‘हामीलाई थाहा छ तपाइँहरु हाम्रो जीवनको लागि लडिरहनुभएको छ । तपाइँहरु एक्लो हुनुहुन्न, हाम्रो देश तपाइाको साथमा उभिएको छ ।’

पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएतस्कीले भने ‘यदि युरोपले युक्रेनलाई गुमायो भने युरोप पहिले जस्तो रहने छैन । यसको सट्टा यसको रुप पराजित, अपमानित र दयनीय हुनेछ ।’ यसको जवाफमा राष्ट्रपति जेलेन्स्कीले भने ‘तपाइँहरु यहाँ आउनुले युक्रेनको लागि बलियो समर्थनलाई देखाउँछ ।’

युक्रेनका प्रधानमन्त्री डेनिस सिमेहलले तीन देशका प्रधानमन्त्रीहरुसँग भएको बैठकको विषयमा ट्वीट गरे ‘रुसविरुद्ध कडा प्रतिबन्धको विषयमा कुरा भयो । यसमा रुसलाई आतंकवादको प्रायोजक मान्नु पनि समावेश छ ।’ चार देशका प्रमुखहरुको वार्ताको क्रममा किभमा बम विष्फोटका आवाज सुनिए । युक्रेनमा रुसको आक्रमण जारी छ र उसले राजधानी किभमा कब्जा गर्न खोजिरहेको छ । यी दुई देशबीच शान्ति वार्ता पनि चलिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *