महँगी र बेरोजगारी बढ्दो, खर्च धान्न आफ्नै शरीर बेच्न बाध्य छन् युवायुवती

डिसी नेपाल
४ चैत २०७८ १२:४८
844
Shares

अमिर नतेग, तेहरान (बीबीसी) “मैले जे गरिरहेकी छु त्यसप्रति म लज्जित छु, तर मसँग के विकल्प छ र?” तेहरानकी एकल महिला नेदा भन्छिन्।

दिनमा उनी केशविन्यासको काम गर्छिन् तर हातमुख जोड्ने मेलो गर्न राति उनी यौनकर्मीका रूपमा देहव्यापार गर्न बाध्य भएको बताउँछिन्।

“म यस्तो देशमा छु जहाँ महिलालाई सम्मान गरिँदैन, अर्थतन्त्र खस्किँदो छ र सबै कुराको मूल्य दिनदिनै बढिरहेको छ,” उनी भन्छिन्।

“म एकल आमा हुँ। मैले मेरो छोराको हेरचाह गर्नुपर्छ। यौनकर्मले राम्रो कमाइ हुन्छ। म अहिले सहरमा एउटा सानो घर किन्न खोज्दैछु।”

“यो मेरो जीवनको दुःखद सत्य हो। म आफ्नो आत्मा बेचिरहेकी छु।”

सन् २०१२ मा इरानले वेश्यावृत्तिलाई रोक्न राष्ट्रिय अभियान घोषणा गर्‍यो। तर गैरसरकारी संस्था र अध्ययनकर्ताहरूको प्रतिवेदनले वेश्यावृत्तिका लागेका मानिसहरूको सङ्ख्या लगातार वृद्धि भएको देखाउँछ।

इरानको कट्टर धार्मिक शासनले लामो समयदेखि आधिकारिक रूपमा इरानमा यौनकर्मी रहेको अस्वीकार गर्छ। त्यहाँका निकायहरूले वेश्यावृत्तिलाई युवाहरूलाई बिगार्न बनाइएको पश्चिमा योजना भएको आरोप लगाउँछन्, बेइमान पुरुषका लागि पनि महिलालाई दोषी देखाउँछन्।

अनौपचारिक तथ्याङ्कले इरानमा यौनकर्मीको उमेर घटिरहेको देखाउँछ। विभिन्न गैरसरकारी संस्थाका तथ्याङ्कले सन् २०१६ मा वेश्यावृत्तिमा १२ वर्षका बालिका पनि रहेको देखाउँछ।

लागुपदार्थ दुर्व्यसनी महिलाहरूको उपचार गर्ने अफ्ताब सोसाइटीले सन् २०१९ मा तेहरानमा मात्रै १०,००० महिला यौनकर्मी रहेको हुनसक्ने र तीमध्ये ३५ प्रतिशत विवाहित भएको बताएको छ।

तेहरान विश्वविद्यालयका प्राध्यापक अमिर मोहमद हारिचीले त्यो सङ्ख्या दोबर हुनसक्ने बताए।

इरानमा महिलाका लागि जागिरको कम अवसर र लैङ्गिक असमानताका कारण गरिबीको रेखामुनि रहेका धेरै महिलाहरू पैसाका लागि शरीर बेच्न बाध्य भएका छन् तर यो काममा ठूला जोखिम छन्।

“पुरुषहरूलाई इरानमा वेश्यावृत्ति गैरकानुनी भएको थाहा छ र यसका लागि महिलाहरूलाई गम्भीर सजाय भएको कारण उनीहरूले फाइदा लिन्छन्,” तेहरानको एक विश्वविद्यालमा अध्ययनरत छात्रा मेहनाज भन्छिन्।

“म शरीर सुम्पिँदा पैसा नदिइएको घटना मसँग धेरै पटक भएको छ। म केही गर्न सक्दिनँ।”

कहिलेकाहीँ वेश्यावृत्तिमा संलग्न हुने मेहनाज अन्य काम गरेर तेहरानमा बाँच्न गाह्रो हुने बताउँछिन्।

‘सुखभोग विवाह’

सन् १९७९ को इस्लामिक क्रान्तिपछि नयाँ सत्ताले धेरै यौनकर्मीलाई मृत्युदण्ड दियो अनि वेश्यालयहरू बन्द भए।

महिलालाई यौनका लागि प्रयोग गर्ने कुरालाई कानुनी बनाउने प्रयासमा ”जावाज अल-मुता” भनिने निश्चित अवधिसम्म कायम हुने विवाह प्रचलनमा थियो। “सुखभोग विवाह” पनि भनिने अस्थायी विवाहमा श्रीमती रहने अवधि र उसलाई दिइने क्षतिपूर्ति पहिल्यै तोकिन्छ।

इरानको शिया इस्लामिक प्रणालीमा मुता विवाह कानुनी हुन्छ र यसलाई वेश्यावृत्ति मानिँदैन।

यसको अभ्यास विश्वभरिबाट शिया धर्मावलम्बी आउने धार्मिक सहरहरू मशाद र कोममा बढी प्रचलित छ। सामाजिक सञ्जालमा आएका भिडिओहरूमा इराकी मानिसहरूले मसादमा यौनसाथी खोजिरहेको र अधिकारीहरूले उनीहरू अस्थायी विवाह गरिरहेको बताएको देखिन्छ।

अहिले इरानमा मुता विवाहको सेवा दिने असङ्ख्य अनलाइन सेवा प्रदायकहरू टेलिग्राम र ह्वाट्सएपमा सरकारी स्वीकृति प्राप्त भन्दै प्रचार गरिरहेका छन्।

बढ्दो महँगीले ल्याएको स्थिति

वेश्यावृत्ति वृद्धिको एक प्रमुख कारण रहेको महँगी बढ्नुमा अमेरिकाले इरानमाथि परमाणु कार्यक्रमका लागि लगाएको आर्थिक प्रतिबन्ध हो। गत वर्षयता इरानमा मुद्रास्फीति दर ४८.९ प्रतिशत छ। बेरोजगारी बढेको छ र जागिर खाने धेरैका लागि तलब अपुग्दो छ।

यसबीचमा इरानका प्रमुख सहरहरूमा २० देखि ३५ वर्षका पुरुष यौनकर्मीको सङ्ख्या पनि बढेको छ।

त्यस्ता एक पुरुष २८ वर्षे कामयार सुपरमार्केटमा क्याशिअर छन्। उनी गत वर्षसम्म बाबुआमासँग बस्थे र खर्चका लागि बुबाको भर पर्थे।

अहिले उनको तेहरानमा अपार्टमेन्ट छ र उनी चाँडै नै बिदेसिने विचारमा छन्।

“म सामाजिक सञ्जालमार्फत् आफ्ना ग्राहक भेट्छु,” उनी भन्छन्।

“यी महिलाहरू सामान्यतया ३० देखि ५० वर्षका हुन्छन्। मेरी एउटी ग्राहक ५४ वर्षकी थिइन्। उनीहरूले मलाई राम्रो व्यवहार गर्छन्, राम्रो पैसा दिन्छन् र म उनीहरूकै स्थानमा रात बिताउँछु। र म धेरै ग्राहक भेटिरहेको छु।”

कामयार इन्जिनियर हुन् तर त्यो काममा आफ्नो भविष्य देख्दैनन्।

“म सधैँ इन्जिनियर बन्न चाहन्थेँ। तर मलाई त्यो रूपमा यहाँ जागिर नै छैन,” उनी भन्छन्।

“राम्रो जागिर नभएकै कारण मैले प्रेमिकासँग बिहे गर्न पाइनँ। म अहिले जे गरिरहेको छु त्यसप्रति गर्व गर्न सक्दिनँ। हुर्किरहँदा मैले पैसाका लागि नचिनेको मान्छेसँग सुत्छु भनेर सपनामा पनि सोचेको थिइनँ।”

“म लज्जित छु र यसले मेरो जीवन धान्छ। म यस्तो देशमा छु जहाँ भविष्य सोच्दा दुःख मात्रै देखिन्छ।”

यो सामग्रीमा यौनकर्मीहरूको गोपनीयताका लागि नाम फेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *