मारिओपोलका ८० प्रतिशत भवन क्षतिग्रस्त, रुसी सेना पुगेपछि भिडन्त जारी
मस्को (बीबीसी) । रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको भएको छ।
रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेका थिए। मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरे।
“सहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ पनि छैन,” उनले भने।
यद्यपि गत साता रुसी सैनिकहरू युक्रेनमा खासै अघि बढ्न नसकेको सैन्य विश्लेषकहरूले बताएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले गोलाबारी गरिरहेकाले अझै पनि मारिओपोलबाट गैरसैनिक नागरिकहरूलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएका छन्।
ढिलो नगरी शान्तिवार्ता गर्न आह्वान
युक्रेनका राष्ट्रपतिले मस्कोलाई “अविलम्ब” अर्थपूर्ण शान्ति र सुरक्षावार्ता गर्न आह्वान गरेका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एउटा सभामा बोल्दै आफ्नो सेनाको प्रशंसा गरेका छन्।
युक्रेनमा आक्रमण गरेपछि रुसका लागि आफ्ना “गल्ती” बाट हुने क्षति सीमित पार्ने यो मात्र एउटा अवसर भएको जेलेन्स्कीको भनाइ छ।
राति गरेको भिडिओ सम्बोधनमा उनले भने, “रुसका का लागि उसले गरेका गल्तीहरूबाट हुने क्षति घटाउने केल यो मात्र एउटा अवसर हो।”
“यो भेट्ने बेला हो, यो कुरा गर्ने बेला हो, यो भूमिको अखण्डता र युक्रेनका लागि न्याय पुनर्स्थापित गर्ने बेला हो।”
“अन्यथा रुसको क्षति यस्तो हुन्छ कि त्यो पूर्ति गर्न धेरै पुस्ता लाग्छ।”
मारिओपोलबाट पश्चिमी युक्रेनको ल्भिभमा पुग्न सफल भएका मानिसहरूले रुसले निरन्तर आक्रमण गरिरहेकाले त्यहाँ व्याप्त आतङ्कबारे बताएका छन्।
तीमध्ये एक २८ वर्षीया युलिया याशेन्कोले भनिन्, “हाम्रो सहर मेटिँदैछ। गोलाबारीले हाम्रा घरहरू जलाएको छ।”
“उनीहरूले सहरका सबै वस्तुमाथि प्रहार गरिरहेका छन्। अनेक अस्त्रहरू प्रयोग भएका छन्,” उनले भनिन्।
उनले सहरमा जताततै धुवाँको मुस्लो र शव देखिएको बताइन्। “तर ती शव जम्मा गर्ने कोही छैन।”
रुसले बम आक्रमण गर्न थालेपछि उक्त सहरका ८० प्रतिशतभन्दा बढी आवासीय भवनहरू क्षतिग्रस्त वा ध्वस्त भएको बताइएको छ।
दुई सातादेखि झन्डै चार लाख मारिओपोलमा फसेका छन्। यद्यपि युक्रेनी अधिकारीहरूले शुक्रवार झन्डै ५,००० जना त्यहाँबाट बाहिर निस्किएको बताएका छन्।
विभिन्न भवनको अंश र किनमेल गर्ने केन्द्रहरू पूरै ध्वस्त भएको भिडिओहरू सार्वजनिक भएका छन्।
रुसी आक्रमणका कारण उक्त सहरमा विद्युत् र पानीको आपूर्ति अवरुद्ध भएको छ।
अधिकारीहरूका अनुसार आजोभ सागरसँग मारिओपोलको पहुँच पनि अवरुद्ध भएको छ।
मारिओपोल युक्रेनको प्रमुख व्यापारिक बन्दरगाह सहर हो। त्यहाँको जनसङ्ख्या साढे चार लाख थियो।
बुधवार रुसी बम आक्रमणमा परेको सयौँ मानिसहरूले आश्रय लिइरहेको नाटकघरको भग्नावशेषमा खोजी कार्य जारी छ।
राष्ट्रपति जेलेन्स्कीका अनुसार उक्त नाटकघरको भूमिगत तलामा १,३०० जनाजतिले आश्रय लिएका थिए।
रुसले तीन साताअघि युक्रेनमा आक्रमण सुरु गरेदेखि हालसम्म ३० लाखभन्दा बढी मानिसले युक्रेन छोडेको राष्ट्रसङ्घले जनाएको छ।
जेलेन्स्कीका अनुसार नाटकघरको भूमिगत तलाबाट १३० जनालाई जीवित फेला पारिएको छ भने सयौँ मानिस अझै त्यहाँ फसिरहेका छन्।
नगर परिषद्का अनुसार गम्भीर रूपमा घाइते भएका एक व्यक्ति उद्धारकर्मीहरूले फेला पारेका थिए। तर कसैको मृत्यु भएको विवरण आएको छैन।







डिसी नेपाल







Facebook Comment