रुसका माग पूरा गर्नको लागि युक्रेनले राख्यो तीन शर्त
काठमाडौं। रुस युक्रेन युद्धको २६ दिन बितिसकेको छ तर अझै कुनै परिणाम निस्किएको छैन । रुस अहिलेसम्म युक्रेनलाई झुकाउन सफल भइसकेको छैन । यद्यपि युद्धका कारण युक्रेनको धेरै नोक्सानी भएको छ । करि ३० लाख मानिसहरु विस्थापित भएका छन् । यो सबका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताको नयाँ फर्मुला दिएका छन् । जेलेन्स्कीको प्रस्तावमा रुसको जवाफको प्रतिक्षा भइरहेको छ ।
जेलेन्स्कीले सोमबार नेटोको आलोचना गर्दै अब युक्रेन नेटोमा सहभागी नहुने बताएका छन् । युक्रेन नेटोमा सहभागी नहुने रुसको मुख्य शर्त हो । युक्रेन नेटोमा सहभागी हुन लागेकै कारण रुसले आक्रमण गरेको बताइएको छ । जेलेन्स्कीले युक्रेन नेटोमा सहभागी नहुने तर यसको बदलामा रुसले आफ्ना तीन शर्त मान्नुपर्ने बताएका छन् ।
भोलोदिमिर जेलेन्स्कीले भनेका छन् ‘यदि रुसले संघर्ष बिराम गर्नेछ, रुसी सैनिकहरुलाई फिर्ता बोलाउनेछ र युक्रेनको सुरक्षाको ग्यारेन्टी दिनेछ भने हामीले नेटोमा सहभागी हुने विचार त्याग्नेछौं ।’ युक्रेनी टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा जेलेन्स्कीले भने ‘यो सम्झौता सबैको लागि हो । पश्चिमको लागि हो जसलाई यो थाहा छैन कि नेटोको बारेमा हामीसँग के गर्नुपर्छ । युक्रेनको लागि हो जो आफ्नो सुरक्षाको ग्यारेन्टी चाहन्छ । रुसको लागि हो जो नेटोको विस्तार होस् भन्ने चाहँदैन ।’
टेलिदभिजन अन्तरवार्तामा जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने कुरामा पनि जोड दिए । उनले भने ‘म पुटिनसँग भेट्न चाहन्छु । बैठकबिना यो बुझ्न सकिँदैन कि रुस युद्ध रोक्नुको बदलामा के चाहन्छ ।’ यतिमात्र होइन जेलेन्स्कीले आफू क्रिमिया र रुसले अहिले स्वतन्त्र घोषित गरेको डोनाबास क्षेत्रको स्थितिका विषयमा समेत छलफल गर्न तयार रहेको बताए । उनले यो छलफल युद्धबिराम भएर सुरक्षाको ग्यारेन्टी दिइएपछि मात्र हुने बताए ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अन्तरवार्तामा नेटोको कटु आलोचना गरे । उनको भनाइ नेटोप्रति आक्रामक थियो । उनले भने ‘नेटोले प्रस्ट रुपमा यो भनोस् कि उसले हामीलाई आफ्नो एक हिस्सा बनाउँदैछ वा यो भनोस् कि उसले हामीलाई अपनाउने छैन किनकि उसलाई रुससँग डर लाग्छ र यो कुरा सत्य हो ।’ जेलेन्स्कीले प्रस्ट शब्दमा नेटो रुससँग डराइरहेको बताए ।







डिसी नेपाल







Facebook Comment