रुसका धनाढ्यहरुले आफ्नो अरबौं डलर कहाँ लुकाएर राखेका छन् ?

डिसी नेपाल
१५ चैत २०७८ १६:२५
104
Shares

काठमाडौं। विगत केही दशकमा रुसका ओलिगार्क (धनाढ्य वर्ग) ले अरबौं डलरको अवैध आय विदेश पठाएका छन् । यसो गरेर उनीहरुले यो धन पत्ता लगाउन कठिन बनाइदिएका छन् । युक्रेनमाथि रुसको आक्रमणपछि विश्वका कैयौं देशले यो ‘डार्क मनी’ खोज्नका लागि नयाँ प्रतिबन्ध र कानुनको सहारा लइरहेका छन् । उनीहरुले यसो गर्दा रुसी राष्ट्रपति पुटिनका निकट यी ओलिगार्कहरुलाई नोक्सानी हुने सम्भावना छ ।

अमेरिकाको एक थिंक ट्यांक एटलान्टिक काउन्सिलका अनुसार रुसीहरुको विदेशमा करिब १,००० अरब डलर लुकाइएको डार्क मनी भएको अनुमान छ । संस्थाले २०२० मा जारी आफ्नो रिपोर्टमा यो धनको उक चौथाइ रुसी राष्ट्रपति पुटिन र उनका सहयोगीहरुसँग भएको अनुमान गरेको छ । रिपोर्टमा भनिएको छ ‘रुस यो पैसाको प्रयोग जासुसी, चरमपन्थ, औद्योगिक जासुसी, घुसखोरी, राजनीतिक हेरफेर, दुष्प्रचार र कैयौं अन्य कामको लागि गर्न सक्छ ।’

अमेरिकाकै अर्को थिंक ट्यांक नेशनल एन्डोमेन्ट फर डेमोक्रेसीको दावी अनुसार भ्लादिमिर पुटिनले नै आफ्ना निकट व्यक्तिहरुलाई यस किसिमको पैसा बनाउन प्रोत्साहित गरेका छन् । संस्थाका अनुसार पुटिनले आफ्ना सहयोगीहरुलाई राज्यको बजेटबाट चोरी गर्न, निजी व्यवसायबाट पैसा असुल्न र लाभ कमाउने उद्यमलाई जफत गर्ने योजना बनाउन प्रोत्साहित गरेका छन् ।

रुसका विपक्षी नेताहरु बोरिस नेम्त्सोभ र भ्लादिमिर मिलोभको दावी अनुसार २००४ देखि २००७ कोबीचमा तेलको दिग्गज कम्पनी गजप्रोमको पैसाबाट पुटिनका निकट व्यवसायीहरुलाई ६० अर्ब डलर ट्रान्सफर गरिएको थियो । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टसले जुन पेन्डोरा पेपर्स जारी गरेको थियो त्यसका अनुसार भ्लादिमिर पुटिनका निकट व्यापारी निकै धनी भएका छन् । यी रुसी व्यापारीले पुटिनकै सम्पत्ति यताउता गर्न सहयोग गर्ने अनुमान गरिएको छ ।

विगतमा यो पैसाको अधिकांश हिस्सा साइप्रस गयो किनकि त्यहाँको कर प्रणाली अनुकूल थियो । कैयौंको लागि त्यो द्विप भूमध्य सागरको मस्कोको रुपमा चिनिन थाल्यो । एटलान्टिक काउन्सिलका अनुसार त्यहाँ केवल २०१३ मा रुसबाट ३६ अर्ब डलर ट्रान्सफर गरिएको थियो । यसमध्ये धेरैजसो पैसा त्यहाँ शेल कम्पनहिरु (फर्जी कम्पनीहरु) मार्फत पुग्यो । यी शेल कम्पनीहरुको उपयोग वास्तविक मालिकलाई लुकाउनको लागि गरिन्छ ।

यद्यपि २०१३ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले साइप्रसलाई शेल कम्पनीहरुका हजारौं बैंक खाता बन्द गर्नका लागि राजी गराएको थियो । बेलायतको नियन्त्रण रहेका द्विपहरु जस्तै ब्रिटिश भर्जिन आयल्याण्ड र केम्यान आइल्याण्ड पनि रुसी धनको मनपर्ने गन्तव्य हो । यिनै पैसामध्ये केही पैसा लगानी गर्नको लागि न्यूयोर्क र लण्डन जस्ता प्रमुख वित्तिय सहरमा पठाइन्छ । ग्लोबल विटनेसको एक रिपोर्टका अनुसार २०१८ मा रुसका ओलिगार्कसँग यस्ता ट्याक्स हेवन ठाउाहरुमा करिब ४५ अर्ब डलर छ ।

भ्रष्टाचार रोक्न काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको दावीअनुसार बेलायतमा कम्तीमा २ अर्ब डलरको सम्पत्ति वित्तिय अपराधको आरोप सामना गर्ने रुसी वा क्रेमलिनसँग जोडिएका मानिसहरुसँग छ । अर्गनाइज्ड क्राइम एण्ड करप्सन रिपोर्टिङ प्रोजेक्टले २०१४ मा जारी गरेको रशियन लण्ड्रोम्याट नामको एक रिपोर्टमा रुसको मनी लण्ड्रिङको व्यापकतालाई उजागर गरिएको छ । यो रिपोर्टमा २०११ देखि २०१४ को बीचमा रुसका १९ बैंकले ९६ देशका ५ हजार १४० कम्पनीको २१ अर्ब डलर धन कालोबाट सेतो बनाएको दावी गरिएको छ ।

पैसा लुकाउने तरिका शेल कम्पनीहरु नै हुन् । रुसका ओलिगार्क विदेशमा आफ्नो धन लुकाउनको लागि मुख्य रुपले शेल कम्पनीहरुकै सहारा लिन्छन् । एटलान्टिक काउन्सिलले भनेको छ ‘यी ओलिगार्कले धन लुकाउन र लुट्नको लागि कानुनी साधन तयार गर्नको लागि संसारका सबैभन्दा राम्रा वकिल, अडिटर, बैंकर र लबिस्टहरुलाई नियुक्त गर्छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *