अनेसास डिसि मेट्रो च्यापटरको नयाँ ऐतिहासिक कार्यक्रम

डिसी नेपाल
१७ चैत २०७८ १२:०३

काठमाडौँ। यही २०२२ मार्च २६ का दिन डिसि मेट्रो च्याप्टरको आयोजनामा एक साहित्यिक समारोहको आयोजना गरेर प्रसिद्ध बाल साहित्यकार तथा अनेसास केन्द्रकी सचिव कवयित्री विमला ढुङ्गाना निरौला काहालै प्रकाशित मुक्तक संग्रह ‘काव्य पराग’ र कविता संग्रह ‘ओथारो बसेका सपनाहरू’ को समीक्षा भएको थियो।

सोही कार्यक्रममा डिसि मेट्रो च्याप्टरका संस्थाका संस्थापक अध्यक्ष, तथा अनेसास कै केन्द्रीय पूर्व अध्यक्ष गत ६ दशकदेखि नेपालीभाषा, साहित्य र शिक्षाका सुदीर्घसेवी, वरिष्ठ साहित्यकार प्रा. मोहन सिटौलाको सम्मान पनि गरिएको थियो ।

त्यसै कार्यक्रममा अनेसासको स्थापना र विकासमा निरन्तर प्रत्यक्ष/परोक्ष उदाहरणीय ठुलो योगदान दिंदै आएकी श्रीमती नन्दा सुवेदी प्रतिहार्दिक कृतज्ञता ज्ञापन गर्दै उनको स्वास्थ्यलाभको लागि शुभकामना पत्र पनि ससम्मान प्रदान गरिएको थियो ।

कोरोना महामारीका कारण धेरै लामो समयपश्चात् भर्जिनियाँको फेयरफ्याक्स् पुस्तकालय भवनमा प्रत्यक्ष भेलाभई सम्पन्न भएको सो कार्यक्रमलाई केही सहभागीहरुले एक नयाँ ऐतिहासिक कार्यक्रमको नाम दिएको पनि सुनियो । प्रस्तुत कार्यक्रममा ठूलो संख्यामा बाल, युवा, प्रौढ एवम् महिला,पुरुष साहित्यकारहरू भेला भएका थिए।

सोहि कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदी, प्रा.मोहन सिटौला, प्रतिष्ठित वक्ताहरूमा अनेसास पुरस्कार समितिका अध्यक्ष प्रा.डा.गोपी उप्रेती, अनेसास पुरस्कार समितिकी पुर्व अध्यक्ष तथा वरिष्ठ साहित्यकार सीता पाण्डे, सुप्रसिद्ध कवि सुदीप भद्र खनाल, डिसी मेट्रोका कवि परशु तिमल्सिना तथा पूर्व केन्दीय अध्यक्ष भीम रेग्मी, पूर्व उपाध्यक्ष प्रकाश नेपाल, सो च्याप्टरका सदस्यहरू लगायत एएनएसका पूर्व अध्यक्ष समाजसेवी एवम् वरिष्ठ कवि प्रेम सङ्ग्रौला, कवयित्री मञ्जु सङ्ग्रौला, समाज सेवी एवम् कवि कवीन्द्र सिटौला,इञ्जाका प्रमुख तथा वरिष्ठ पत्रकार गुणराज लुईंटेल, एनोप्लिजका अध्यक्ष तथा वरिष्ठ पत्रकार विजयथापा, कवयित्री डा.कल्पना सत्याल, समाजसेवी बासु सत्याल,उपर्युक्त कृतिका प्रकाशक रेवा स्मृति प्रतिष्ठानका सल्लाहकार रिता सिग्देल, समाजसेवी मोहन निरौला लगायत ठुलो संंख्याको सहभागिता भएको थियो ।

सो कार्यक्रमको अध्यक्षता सोही च्याप्टरका वर्तमान अध्यक्ष अरुण रुपाखेतीबाट भएको थियो भने च्याप्टरका सचिव प्रसिद्ध गीतकार एवम्र मुक्तककार नीलकण्ठ सुवेदीबाट कार्यक्रमको कुशल सञ्चालन भएको थियो ।

बालकवि सचिन चौंलागाईं र रोजी गौतमले गाएको राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रममाआफ्नो विशेष मन्तब्य राख्दै अनेसासका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदी आफ्नी श्रीमतीको स्वास्थ्यको गम्भीर अवस्थाका घरायसी कारणले धेरै लामो समयदेखि बाहिर निस्किन नसक्ने अबस्थामा रहिरहेको भए पनि वरिष्ठ साहित्यकार प्रा.मोहन सिटौलाको स्वागत सम्मान र सर्जक विमला ढुङ्गाना निरौलाकामाथि उल्लेखित पुस्तकहरूको चर्चाको कार्यक्रममा यिनै दुई व्यक्तिका बैशाखी चढेर आउन सकेको भन्दै उनीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिए।

उनले सिटौलाजी सित अतीतमा सँगै गरिएका काम कुराको सुमधुर स्मरण गरे। साथै वरिष्ठ साहित्यकार एवम् संस्थाको कुशल नेतृत्वदायी तथा सफल सञ्चालक सिटौलाको हाल ८० वर्षको उमेर र अनुभवको उच्च मूल्याङ्कन पनि गरे।

स्रष्टा विमलाका उपर्युक्त दुई पुस्तकहरूको चर्चा गर्दै सुवेदीले उनी डायस्पोराका महिला समूहमा एक उज्वलतारा हुन् जसमा सरस्वतीको वरदान छ र आफ्नो निरन्तरताको अध्यवसायले उनीअझ प्रखर लेखिका बन्दै जाने कुरामा पूर्ण विश्वास गर्न सकिन्छ भने। यसका साथै डिसि मेट्रो च्याप्टरको यथाशीघ्र विधिवत् पुनर्गठन गर्नुपर्छ भन्ने धारणा पनि उनले राखे। अन्तमा सुवेदीजीले अत्यन्त मार्मिक छन्दबद्ध कविता पनि पाठ गरेर सुनाए।

सम्मानित वरिष्ठ साहित्यकार प्रा.मोहन सिटौलाले वितेका आफ्ना कार्य दिवसहरूको संस्थागत सुरुवात र विकासका सुमधुर स्मृति प्रस्तुत गर्दै विनम्र आफू सम्मानित हुनपाएकोअनि मृदुल एवम् प्रेरणादायी शब्द सुमनहरूको अभिव्यक्ति पनि सुन्न पाएकोमा तिनको उच्च सम्मानगर्दै आयोजकलगायत संस्थापक अध्यक्ष होमनाथ सुवेदी र अन्य सम्बन्धित सबैप्रति हार्दिक आभार प्रकट गर्दै भावुक शब्दमाआत्मीय धन्यवाद ज्ञापन गरे।

महान् प्राचीन संस्कृत साहित्यकार कालिदास र विश्व प्रसिद्ध अंग्रेजी रोम्यान्टिक कवि विलियम वर्डस्वर्थ तथा आधुनिक बिम्बवादी कविका कविताका केही उद्धरण सहितै साहित्यमा विम्बविधानको चर्चा गर्दै साहित्यकार विमलाका प्रस्तुत कविता संग्रहकाबारेमा बोल्दै उनले ती दुवै पुस्तकभित्ररहेका धेरै कविताहरूमा बिम्बको सुन्दर प्रयोग हुनुका साथै त्यहाँ भएका अन्य केही कविताहरूले करुण रस लगायत विभिन्न रसहरूको आश्वादनपनि गराउने क्षमता राख्ने बताए। त्यसका साथै ती संग्रहमा भएका अन्य केही कविताहरूमा नयाँ खालको साहित्यिक धारहरूको नौलो प्रयोग भएकाले पनि यी दुवै संग्रह झन् सुन्दर भएका छन् र तिनीहरू पठनीय एवम् संग्रहनीय छन् भन्नुभयो ।

प्रस्तुत दुई पुस्तकका बारेमा चर्चा गर्दै वरिष्ठ साहित्यकार सीता पाण्डेले विमलाका भावनाहरू देश, प्रकृति, हर्ष ,पीडा, प्रेम, चिन्तन आदिको मिस्रित रङ्गीनफूलझैं सुन्दर हुनुका साथै उनकाबाल साहित्यको मिठास र सामाजिक एवम् सांगठनिक कुशलताको प्रशंसा गर्दै शुभकामना ब्यक्त गरे।

डा.गोपी उप्रेतीले कृतिकार विमलाका कविताले आमप्रवासीका सपना र भोगाईको प्रतिनिधित्य गरेका छन् भन्दै डायस्पोराको सम्वेदित जीवनसित राष्ट्रिय स्वाभिमान, देशप्रेम र आत्म सन्तुष्टिको द्वन्द रहेको देख्दै उनका मुक्तकमा प्रेम, विरह, प्रकृति आदिका सौन्दर्य र सम्वेदनामार्मिक रूपमा प्रस्तुत गरिएका हुँदा यी दुवै कृति सुन्दर छन् भन्दै उनको अझ सफल काव्यिकर सांगठनिक सफलताको शुभकामना दिए।

सुप्रसिद्ध कवि सुदीपभद्र खनालले ‘ओथारो…’ कृतिको शीर्षक माथि नै गहिरो मनन र खोज गरेको भन्दै उनका कवितामा उपमा उपमेयहरुको बेजोड प्रयोग भएको र जीवनका खुसी, दुःख, देशप्रेम जस्ता विविध सम्वेदनाहरूको सिर्जनशील चयन तथा गहिरो वैचारिक संलग्नता समेत भएको तथ्यलाई उजागर गर्दै समग्रमा मानवीय भावना झल्किएको र हाँस्यवाहेक अन्य धेरै रसहरूको समुचित सिञ्चन पाइएको कुरामा प्रकाश पनि पारे। नेपाली डायस्पोरिक काव्य समूहमा कवयित्री विमलाबाट राम्रो योगदान हुन पुगेकाले स्रष्टाको रूपमा उनी उज्वलतारा जस्तै चम्किंदै उत्तरोत्तर सफलताको यात्रामा जान सकुन् भन्ने शुभकामना पनि कवि खनालले व्यक्त गरे।

कवि परशु तिमल्सिनाले विमलाको मुक्तक संग्रह ‘काव्य परागको’ साहित्यिक टिप्पणी गर्दै त्यसमा निहित सूक्ष्मता, गहनता, श्रृङ्गारिकता, सकारात्मक मानवीयभाव, संस्कृति, पीडाका सिर्काहरू, नारी शक्तिको सशक्तिकरण, मातृत्वको उच्च सम्मान तथा विभिन्न विकृति प्रतिका वितृष्णा आदि र तिनमा प्रयुक्त उपमाहरूको सौन्दर्यले गर्दा निकै खारिएका स्वादिला मुक्तकहरू भएको तथ्यमा प्रकाश पारेका स्रष्टाप्रति बधाई एवम् शुभकामना व्यक्त गरे।

सो अवसरमा चर्चित कृतिका प्रकाशक रेवा स्मृति प्रतिष्ठान (Rewa Organization) का सल्लाहकार रिता सिग्देलले स्रष्टा विमलालाई सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरेका थिए। त्यसै अवसरमा मोहन निरौलाजीबाट सो रेवा स्मृति प्रतिष्ठान नेपाल तथा अमेरिकामा स्थापना भएको नाफा रहित एक संस्था भएको र यसले शिक्षा, स्वास्थ्य, साहित्य, कलाजस्ता क्षेत्रमा सहयोग र समन्वय गर्ने उद्देश्य अनुसार नै यी पुस्तकहरूको प्रकाशन भएको कुरा र अति चाखएवम्तन्मयका साथ चार घण्टासम्म लामो चलिरहेको सो कार्यक्रमको प्रायोजन पनि सोही प्रतिष्ठानले गरेको जानकारी पनि उनीबाट प्राप्तभएको थियो ।

सर्जक विमला ढुङ्गाना निरौलाले आफ्ना चर्चित पुस्तकहरू प्रकाशनको सन्दर्भमा चर्चा गर्दै सो कार्यमा सल्लाह दिनु हुने, भूमिका लेखिदिनु हुने तथा पुस्तक प्रकाशनमा सहयोग पु¥याउने सम्बन्धित सबै मान्यजन लगायत त्यहाँ वहुमूल्य रचनात्मक समीक्षा गर्दै प्रेरणा र शुभकामना दिनु हुने सबै प्रति हार्दिक आभार प्रकट गरे।

त्यसै गरी कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रस्तुत प्रशंसा, सम्मान, शुभकामना, कदर र विश्वासले आफ्नो रचनात्मक एवम् संगठनिक साहस, अठोट र जिम्मेवारी अरू बढेको मानसिक अनुभव भएको जानकारी पनि उनले दिए। उनले सो पुस्तकहरू नेपाल प्रज्ञाप्रतिष्ठानमा विमोचित भएका र अहिले वासिङ्गटन डिसि महानगरव्यापी आफ्नै विपुल आत्मीय सामाजिक परिवारका समक्ष यो डिसी मेट्रो च्याप्टरको आयोजनामा यो फेयर फ्याक्स् पुस्तकालयको सौजन्यमा समीक्षा हुने सौभाग्य मिलेकोमाआफ्नो निजी परिवार लगायतसम्बन्धित सबैप्रतिआफू हर्षित, प्रेरित र आभारी भएको हार्दिकतासमेत जाहेर गरे।

सो कार्यक्रममा बालकवि सचिन चापागाईं र रोजी गौतमका चोटिला कविताहरूका साथै कवीन्द्र सिटौला, प्रकाश नेपाल, पुष्पाखनाल, शकुन्तलाअधिकारी र गोमान्यौपानेका मार्मिक कविताका सुन्दर प्रस्तुतिले सम्पूर्ण सहभागीहरू ज्यादै प्रभावित भएका थिए ।

अन्तमा सभापतिले सम्मानित व्यक्तित्व प्रा.मोहन सिटौला एवम् स्रष्टा विमलालाई हार्दिक बधाई दिंदै कवयित्री विमलाको सिर्जनात्मक र संस्थागत उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे। साथै अस्वस्थ नन्दादेवी सुवेदीज्यूमा सुस्वास्थ्यको शुभकामना पनि ब्यक्त गर्दै अमूल्य समय दिएर सहभागी भइदिएकोमा सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *