पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि आजदेखि बहस, यस्तो छ समीकरण

डिसी नेपाल
१७ चैत २०७८ १३:१७
12
Shares

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल आजदेखि सुरु हुँदैछ । अपराह्न ४ बजे छलफल सुरु हुनेछ । हालै नेशनल असेम्बलीमा विपक्षी दलका नेता शाहबाज सरिफले इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए ।

बीबीसी उर्दूका अनुसार इमरान खान सरकारसँग हाल १ सय ४० सांसदको मात्र समर्थन छ भने विपक्षीसँग १९६ सांसद छन् । जसमा इमरानको पार्टीका धेरै आक्रोशित सांसदहरू सामेल छन्। राष्ट्रियसभामा अविश्वासको प्रस्ताव पारित गर्न १७२ सांसदको समर्थन आवश्यक छ ।

यसैबीच, पाकिस्तानमा राजनीतिक घटनाक्रम तीव्र गतिमा परिवर्तन भइरहेको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तय थियो तर उनले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवासँगको भेटपछि सम्बोधन स्थगित गरेका थिए।

आइतबारको जुलुसमा इमरानले सरकार गिराउनमा विदेशी षड्यन्त्रको आरोप लगाएपछि यसले पनि विवाद बढाएको छ । विपक्षीहरुले यसलाई इमरानको रणनीति भनेका छन् । जबकि इमरान खानले यसबारे बारम्बार स्पष्टीकरण दिइरहेका छन् ।

यसैबीच पाकिस्तानी अखबार डनले आफ्नो एउटा प्रश्नको जवाफमा अमेरिकी विदेश मन्त्रालयले यसमा आफ्नो कुनै हात नभएको बताएको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले यसमा कुनै सत्यता नभएको बताएको छ ।

आइतबारको ¥यालीमा इमरानले आफूसँग विदेशी षड्यन्त्रको प्रमाण रहेको दाबी गरेका थिए । यसैबीच, इमरान खानले बुधबार मन्त्रिपरिषद्को बैठक पनि बोलाएका थिए, जसमा उनको नेतृत्वमा विश्वास व्यक्त गरिएको थियो।

पाकिस्तानका धेरै मन्त्रीहरूले इमरान खानले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार टिभी च्यानलहरूसँगको कुराकानीमा पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले खेल अझै सकिएको छैन भने।

अर्कोतर्फ विपक्षी गठबन्धनले आफूसँग बहुमत रहेको र इमरान खानले तत्काल राजीनामा दिनुपर्ने दाबी गरिरहेको छ । बुधबार बिलावल भुट्टोले भनेका छन् कि शाहबाज शरीफ चाँडै पाकिस्तानको नयाँ प्रधानमन्त्री हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *