नेपाली दूतावासमा आयोजित रात्रि भोजमा प्रधानमन्त्री देउवा सहभागी
नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजदूतावास नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गरेका छन्।

दिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल र भारतबीच केही नयाँ सम्झौताहरू पनि हुने बताए ।
नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुईपक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनले बताए । आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाई हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरे ।
नेपालको बृहत्तर आर्थिक सामाजिक विकासलाई केन्द्रमा राखेर समुन्नत राष्ट्रको मार्गचित्र कोर्ने दिशामा सबै नेपाली पुनः एकपटक जुट्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री देउवाले देशको विकासका खातिर योगदान गर्न प्रवासी नेपालीलाई आह्वान गरे ।

राजदुतावासमा आयोजित रात्रीकालिन भोज कार्यक्रममा भारतीय राजनीतिज्ञ, भारतमा रहेका नेपाली राजनीतिक पार्टीका जनवर्गीय संगठनका नेतृत्वहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिवि, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री देउवा आज अपराह्न यहाँ आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् । देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आजै अपराह्न भेटवार्ता गरेका छन् । आजै साँझ प्रधानमन्त्री देउवासँग भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गरे ।
प्रधानमन्त्रीका साथ प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव छन् ।

भोलि चैत १९ गते भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् भने प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।
वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।








डिसी नेपाल








Facebook Comment