आर्यन खान ड्रग्स केसका साक्षी प्रभाकरको अचानक मृत्यु !

डिसी नेपाल
१९ चैत २०७८ १०:३२
5.5k
Shares

काठमाडौं। मुम्बईको चर्चित क्रुज ड्रग्स केसका साक्षी प्रभाकर सेलको शुक्रबार निधन भएको छ । उनका वकिल तुषार खाण्डारेका अनुसार प्रभाकर सेलको चेम्बुरको माहुल क्षेत्रस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।

प्रभाकर सेलले मुम्बई क्रुज ड्रग्स काण्डमा समीर वानखेडेमाथि करोडौं घुस लिएको आरोप लगाएपछि समीर वानखेडेमाथि अनुसन्धान सुरु भएको थियो । यस विषयमा अनुसन्धान गरिरहेको एनसीबीको सतर्कता टोलीले प्रभाकर सेललाई पनि सोधपुछका लागि बोलाएको थियो ।

प्रभाकर सेलले क्रुज पार्टीको छापा मार्ने क्रममा आफू किरण गोसावीसँगै रहेको दाबी गरेका थिए । प्रभाकरले किरण गोसावीले साम नामका व्यक्तिसँग २५ करोडमा बार्गेनिङ गरेर १८ करोडमा सम्झौता फिक्स गर्न लागेको खुलासा गरेका थिए । किरण गोसावीले एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेलाई पनि घुस दिएको कुरा गरेका थिए ।

बलिउडका किंग खान (शाहरुख खान)का छोरा आर्यन खान पनि यस हाइप्रोफाइल केसमा पक्राउ परेका थिए । समीर वानखेडेले २ अक्टोबर २०२१ मा मुम्बईबाट गोवा जाँदै गरेको क्रुज जहाजमा छापा मारेका थिए । सो क्रममा उनले लागूऔषध मुद्दामा आर्यन खानसहित ९ जनालाई पक्राउ गरेका थिए । तर, आर्यनसँग कुनै पनि लागूऔषध नभेटिएको बताइएको छ । यस्तो अवस्थामा समीर वानखेडेको ग्राफ खस्किन थाल्यो । उनीमाथि करोडौं रुपैयाँ ठगी गरेको आरोप छ । पछि उनी एनसीबीबाट पनि बिदाइ भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *