श्रीलंकामा स्थिति नियन्त्रणबाहिर, सडकमा हिंसा, आगजनी, तोडफोड र प्रदर्शनकारीको भिड
काठमाडौं। श्रीलंकामा आगजनी, हिंसा, प्रदर्शन, सरकारी सम्पत्तिमा तोडफोड भइरहेका छन् । लामो समयदेखि विद्युत् कटौती, खाद्यान्न अभाव झेलिरहेको छिमेकी राष्ट्र श्रीलंकामा राष्ट्रपति गोटाबाया राजापाक्षले संकटकाल लगाएका छन् । अप्रिल १ देखि आपतकाल लागू गरिएको छ । श्रीलंकाका राष्ट्रपतिको कार्यालयबाट जारी आदेशमा मुलुकको शान्ति सुरक्षा कायम गर्न, अत्यावश्यक वस्तुको आपूर्तिलाई निरन्तरता दिन यसो गर्न आवश्यक भएको जनाइएको छ ।
यस आपतकालको माध्यमबाट राष्ट्रपति राजापाक्षेले सार्वजनिक सुरक्षा अध्यादेशको प्रावधान लागू गरेका छन्। यसले उनीहरूलाई सार्वजनिक सुरक्षा, सार्वजनिक व्यवस्थाको संरक्षण, विद्रोह दमन, दंगा वा नागरिक हलचल वा अत्यावश्यक आपूर्तिहरूको मर्मतका लागि नियमहरू बनाउन अधिकार दिएको छ । आपतकालीन नियम अनुसार राष्ट्रपतिले कुनै पनि सम्पत्ति कब्जा गर्न र कुनै पनि परिसरमा छापा मार्ने र थुनामा राख्ने अधिकार दिन सक्छन्। राष्ट्रपतिले कुनै पनि कानून परिवर्तन वा निलम्बन पनि गर्न सक्छन्।
श्रीलंकाको राजधानी कोलम्बोमा १३–१३ घण्टाको विद्युत् कटौतीसँग संघर्षरत जनता सडकमा उत्रिएका छन् र राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् । जनतासँग खानेकुरा छैन । श्रीलंकामा चामल, दाल, औषधिको मूल्य आकाशिएको छ । पारासिटामोल १० ट्याब्लेटको ४५० रुपैयाँमा बिक्री भइरहेको छ । श्रीलंकाको इतिहासमा यो सबैभन्दा खराब आर्थिक संकट भएको आर्थिक विज्ञहरू बताउँछन् ।
नाकाबन्दी, अभाव र कठिनाइको सामना गरिरहेका श्रीलंकाका जनता शुक्रबार राति कोलम्बोमा सडकमा उत्रिएर राष्ट्रपति गोटाबाया राजापाक्षेको घरतर्फ ५ हजारभन्दा बढी मानिसले ¥याली निकालेका छन् । भीड राष्ट्रपति भवनमा आउन चाहन्थे। सो क्रममा भीडले प्रहरीसँग झडप गरेपछि ५४ जना पक्राउ परेका छन् ।
श्रीलंकाका वरिष्ठ प्रहरी प्रवक्ता अजित रोहानाले हिंसा, कुटपिट र आगजनीमा २४ प्रहरी घाइते भएको र कैयौं सर्वसाधारण घाइते भएको बताए। आन्दोलनकारीले सरकार र सेनाका धेरै गाडीमा आगजनी गरेका छन् । मन्दी, विदेशी मुद्राको अभावको सामना गरिरहेको श्रीलंकामा प्रदर्शनकारी र विद्रोहीले करोडौं रुपैयाँको सम्पत्ति जलाएका छन् । उनीहरुको पहिचान गरी सार्वजनिक सम्पत्ति नष्ट गरेको अभियोगमा कारबाही गरिने प्रहरीले जनाएको छ ।
अनियन्त्रित प्रदर्शनकारीलाई तितरवितर गर्न प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । राष्ट्रपति राजापाक्षेको कार्यालयले बिहीबार रातिको प्रदर्शनमा हजारौं प्रदर्शनकारीहरू भित्रका ‘संगठित अतिवादीहरू’ लाई हिंसाको लागि दोषी ठहराएको छ।
श्रीलंका सरकारले शुक्रबार वर्तमान आर्थिक संकटलाई लिएर राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास नजिकैको हिंसात्मक प्रदर्शनलाई ‘आतंकवादको कार्य’को संज्ञा दियो र विपक्षी दलहरूसँग सम्बन्धित ‘चरमपन्थी तत्वहरू’लाई दोष लगाएको छ। यसैबीच सञ्चारकर्मीसँग कुरा गर्दै यातायातमन्त्री दिलुम अमुनुगामाले आन्दोलनकारीले गरेको हिंसा आतंककारी कार्य भएको बताए ।
श्रीलंका अहिले इतिहासकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । इन्धन, खाना पकाउने ग्यास, अत्यावश्यक वस्तुको अभावमा लामो लाइन लाग्ने र घण्टौंसम्म विद्युत् कटौतीका कारण जनता सास्तीमा परेका छन् । राजापाक्षेले आफ्नो सरकारको कारबाहीको बचाउ गर्दै विदेशी मुद्रा संकट आफ्नो सरकारको कारणले नभएको र आर्थिक मन्दी ठूलो मात्रामा कोरोना महामारीले प्रेरित भएको बताए। कोरोनाका कारण श्रीलंकाको आम्दानीको मुख्य हिस्सा रहेको पर्यटन व्यवसायमा ठूलो नोक्सानी पुगेको छ ।
कोभिड–१९ महामारीले श्रीलंकाको अर्थतन्त्रलाई ठूलो धक्का दिएको छ, सरकारले विगत दुई वर्षमा कोरोनाले १४ अर्ब डलर नोक्सान गरेको अनुमान गरेको छ । श्रीलंकामाथि ठूलो ऋण छ र विदेशी मुद्रा सञ्चिति तल्लो तहमा पुगेको छ । जसका कारण सरकारले विदेशबाट अत्यावश्यक वस्तु आयात गर्न सकेको छैन ।
श्रीलंकाको केन्द्रीय बैंकका अनुसार फेब्रुअरीमा मुद्रास्फीति बढेर १७.५ प्रतिशत पुगेको छ जुन गत महिना १६.८ प्रतिशत थियो । सरकारले श्रीलंकाली मुद्राको अवमूल्यनमा कुनै प्रतिबन्ध नलगाएकाले यो अझै बढ्ने अनुमान गरिएको छ ।







डिसी नेपाल







Facebook Comment