भूतपूर्व ब्रिटिश गोर्खाहरूको संस्था नै माओवादी केन्द्रमा

डिसी नेपाल
१९ चैत २०७८ १९:१३
748
Shares

काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खाहरूको संस्था नै नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा कृष्णकुमार राईको नेतृत्वमा रहेको गोर्खाहरूको समूहको ८१ पदाधिकारीसहितको समूह माओवादी केन्द्रमा समाहित भएको हो । सयभन्दा बढी सङ्ख्यामा रहेका भूतपूर्व ब्रिटिश सेनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका थिए।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अरु धेरै पार्टी प्रवेशका कार्यक्रमभन्दा यो विशिष्ट महत्वको रहेको बताएका छन् । उनले हिजो आफ्नो रगत, पसिना विदेशीका लागि बगाएका गोर्खाको समूह माओवादी केन्द्रमा समाहित हुने कुरालाई नजरअन्दाज गर्न नहुने बताए । उनले यसले माओवादी केन्द्रले लिएको नीति र उसको व्यवहार सही छ भन्ने पुनःपुष्टि गरेको बताए ।

प्रचण्डले स्थानीय निर्वाचनको मुखमा भएको यो प्रवेशले माओवादी केन्द्रमा मात्रै नभइ परिवर्तनकामी नेपाली जनतामा नयाँ उत्साह ल्याउने विश्वास व्यक्त गरे । उनले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकलगायतका परिवर्तनका एजेण्डाको सूत्रधार माओवादी केन्द्र हुने तर गणतन्त्रको फल अरुले मात्रै खान खोज्ने परिपाटीले राजनीतिक स्थिरता कायम हुन नसकेको बताए ।

उनले माओवादी केन्द्रले परिवर्तन र शान्ति तथा विकासमा नेतृत्व गरेको र माओवादी नेतृत्वमा रहेका स्थानीय तहहरुले अरुले भन्दा उत्कृष्ट काम गरेको दाबी पनि गरे । कार्यक्रममा माओवादी प्रवेश गर्ने संस्थाको नेतृत्वकर्ता राईले माओवादीले नेतृत्व गर्दा मात्रै शान्ति, स्थिरता र विकास हुनसक्ने लागेकाले माओवादीको पक्षमा आफूहरु केन्द्रित भएको धारणा राखेका थिए ।

राईले माओवादीको विचार, सिद्धान्त र व्यवहारले आफूहरु प्रभावित भएको र आफूहरूको स्वार्थ राष्ट्रको विकास तथा समृद्धिको पक्षमा काम गर्नेबाहेक अरु नभएको बताएका थिए । त्यसैगरी राईले आफूहरूको पक्षमा माओवादी र प्रचण्डले लगातार समर्थन गरेका कारणले पनि आफूहरु माओवादी केन्द्रमा समाहित भएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.