प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा मतदानका बेला सभामुखविरुद्ध अविश्वासको प्रस्ताव !
काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्रीविरुद्ध पेश गरिएको अविश्वासको प्रस्तावमाथि मतदान हुने बेलामा विपक्षी दलले नेशनल एसेम्बलीका सभामुखविरुद्ध पनि अविश्वासको प्रस्ताव ल्याएका छन् । पाकिस्तानका विपक्षी दलहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध मतदान गर्नुअघि नेशनल एसेम्बलीका अध्यक्ष असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्।
प्रस्तावमा राष्ट्रिय सभाका एक सयभन्दा बढी सदस्यको हस्ताक्षर रहेको छ । नियमावलीअनुसार राष्ट्रियसभाका सभामुखले आफुविरुद्ध अविश्वासको प्रस्ताव आएमा उनले न त अधिवेशनको अध्यक्षता गर्न सक्छन् न त अधिवेशन स्थगित गर्न सक्छन् ।
यसैबीच इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा मतदानको दिन सत्तारुढ दल पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का पाँच कार्यकर्तालाई संसद भवन बाहिरबाट पक्राउ गरिएको छ । इस्लामावाद प्रहरीले पक्राउ गरेपछि पाँच कार्यकर्तालाई अबपारा प्रहरी चौकीमा पठाइएको छ ।
प्रस्तावमा मतदान हुनुअघि राजधानीमा धारा १४४ लागू भएको र रेड जोनलाई सिल गरिएको छ । इमरान खानले हिजो पूरै देशमा शान्तिपूर्ण विरोध प्रदर्शनका लागि अपील गरेका थिए ।
पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले संघीय सरकारले पञ्जाबका गभर्नर चौधरी मोहम्मद सरवरलाई उनको पदबाट हटाएको बताएका छन्। पञ्जाबको नयाँ गभर्नरको घोषणा पछि गरिने उनको भनाइ छ । यसैबीच, पञ्जाबका डेपुटी गभर्नरलाई कार्यवाहक गभर्नर बनाइएको छ।
सूचना मन्त्री फवाद चौधरीले पनि राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथिको कारवाहीमा सत्तारुढ दल शान्तिपूर्ण रहने आश्वासन दिएका छन् । उनले ट्विटमा भनेका छन्, “तहरिक-ए-इन्साफ एक मध्यमवर्गीय पार्टी हो। तहरिक-ए-इन्साफका कार्यकर्ताहरूले हिंसा फैलाउनेछन् भन्ने विपक्षी मिडिया हाउसहरूद्वारा अभियान चलाउनु अचम्मको कुरा हो।”
“संविधान अनुसार सबै काम हुनेछ। हिंसाको कुनै ठाउँ छैन। सभ्य समाजको विरोध सभ्य हुनेछ। हिंसात्मक आन्दोलनका समाचार पनि दर्जनौं समाचार जस्तै झुटो समाचार हुन्।” स्थानीय मिडियामा हल्ला चलिरहेको छ कि पीटीआई कार्यकर्ताहरूले रेड जोनमा विरोध गर्नेछन्। तर, सरकारले यसलाई अस्वीकार गर्दै आएको छ ।
हिजो इमरान खानले जनतालाई शान्तिपूर्ण रूपमा विरोध गर्न र यो षड्यन्त्रलाई विफल पार्न आग्रह गरेका थिए।







डिसी नेपाल







Facebook Comment