‘बुचामा ३०० भन्दा धेरै सर्वसाधारणलाई यातना दिएर मारियो’

डिसी नेपाल
२२ चैत २०७८ ११:३५
368
Shares

काठमाडौं । किभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ‘३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको’ आरोप लगाएका छन्।

सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए।

उनले हाल आफूहरूसँग बुचामा मात्रै ‘३०० भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको’ बताउँदै पुरै सहरमा अनुसन्धान गरिदाँ पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने बताए।

”किभ सहितका क्षेत्रका जिल्लाहरूमा रुसी सेनाले पकड स्थापित गरेका बेला स्थानीयबासीहरूले ८० वर्ष अघि नाजीहरूले कब्जा गर्दा समेत नदेखेका काम रुसी सेनाले गरेको” उनले बताए।

जेलेन्स्कीले रुसी सेनाले बुचा सहित अन्य सहरहरू कब्जा गरेको बेला गरेका अपराधहरूको पूर्ण र पारदर्शी अनुसन्धान गर्न आफ्नो सरकार इच्छुक रहेको पनि बताएका छन्।

बुचा सहित किभ नजिक रहेका अन्य स्थानहरूको भ्रमण पश्चात् जेलेन्स्कीले रुसी सेनाले सहरहरू ध्वस्त पारेको, अपहरण गरेको, यातना दिएको अनि सर्वसाधारणहरूलाई मारेको प्रशस्त प्रमाण फेला परेको बताएका छन्।

जेलेन्स्कीले आफ्नो सरकारले त्यस्तो कार्यमा संलग्न रुसी सेनाको पहिचान गर्ने सबै खाले प्रयास गरिरहेको बताउँदै रुसी सेनाबाट पीडित सर्वसाधारणहरूको सङ्ख्या अन्य स्थानमा अझ धेरै हुनसक्ने सूचना रहेको चेतावनी दिए।

युक्रेनमा रुसी सेनाले गरेको भनिएको अत्याचारका थप प्रमाणहरू फेला परिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले त्यसको निन्दा गरेका छन्।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माथि युद्ध अपराध बारे अनुसन्धान गरिनुपर्ने बताए।

युक्रेनको राजधानी किभ नजिकै रहेको बुचा नगरमा भएको घटनालाई बाइडनले निकृष्ट अपराधको संज्ञा दिए।

रुसी सेना उक्त सहरबाट फर्किएसँगै त्यहाँ दर्जनौँ सर्वसाधारणको शव र धेरै मानिसको चिहान फेला परेको बताइएको छ।

बीबीसीका एक जना संवाददाता बुचास्थित एउटा घरको भुइँतल्लामा पुगेका थिए जहाँ हात बाँधिएको अवस्थामा पाँच जना सर्वसाधारणको शव फेला परेको थियो।

संयुक्त राष्ट्र सङ्घका लागि मस्कोका राजदूतले भने बुचामा भएका घटनाहरूबारे पश्चिमा राष्ट्रहरूले झुट बोलेको देखाउने ”तथ्यपरक प्रमाणहरू” आफ्नो देशले राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा प्रस्तुत गर्ने बताएका छन्।

न्यूयोर्कमा भएको पत्रकार सम्मेलनमा उनले युक्रेनमाथि बनावटी प्रमाणहरू तयार पारेको आरोप लगाए।

साथै आफ्नै देशका मानिस विरुद्ध ‘फल्स फ्ल्याग’ आक्रमण अर्थात् विपक्षीलाई आरोप लगाउने उद्देश्य सहित अघि बढाइएको राजनीतिक वा सैन्य कारबाही चलाएको आरोप उनले लगाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *