रुसले युक्रेनमा आक्रमण गरेको डेढ महिनापछि बल्ल भारतले निन्दा गर्‍यो

डिसी नेपाल
२३ चैत २०७८ १२:५६
10.0k
Shares

काठमाडौं । रुस र युक्रेनबीचको ‘बुचा नरसंहार’मा भारतको प्रतिक्रिया आएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा भारतले ‘बुचा नरसंहार’को निन्दा गर्दै स्वतन्त्र छानबिनको मागलाई समर्थन गरेको छ ।

कीभ नजिकैको बुचा सहरमा रुसी सेनामाथि नरसंहारको आरोप लगाइएको छ । रुसी सेनाले त्यहाँ करिब ३ सय मानिसलाई निर्ममतापूर्वक मारेको बुचाका जनताको दाबी छ । बुचाका केही तस्विरहरु पनि सार्वजनिक भएका छन् जसमा सडकमा मानिसहरुको शव छरिएको छ ।

अहिलेसम्म भारतले रुसो-युक्रेन युद्धमा आफ्नो तटस्थ अडान राखेको छ। भारतले पटकपटक वार्ताबाट समस्या समाधान गर्न आग्रह गरिरहेको छ । अब संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि टीएस त्रिमूर्तिले यो सम्पूर्ण मामिलामा बयान दिएका छन्। उनले बुचा हत्याकाण्डको स्वतन्त्र छानबिन हुनुपर्ने बताए । बूचाबाट आएको खबरले विचलित पार्ने गरेको उनले बताए ।

‘यस विषयमा स्वतन्त्र छानबिन आवश्यक छ । जब निर्दोष जनताको जीवनको कुरा आउँछ, तब कूटनीतिबाट मात्रै शान्ति स्थापना हुन्छ’ टीएस त्रिमूर्तिले भारतको अडान राखेका छन् । उनका अनुसार युक्रेनको अवस्था अझै परिवर्तन भएको छैन । पछिल्लो समय सुरक्षा परिषद्को बैठक बसेको र यो बैठक बस्दै गर्दा युक्रेनको अवस्थामा कुनै सुधार नआएको बताइएको छ ।

सुरक्षा परिषद्को बैठकमा भारतले युद्धका कारण उत्पन्न हुने चुनौतिका बारेमा पनि विस्तृत रुपमा कुरा गरेको थियो । त्रिमूर्तिले यो युद्धका कारण सारा विश्वका लागि नयाँ चुनौती खडा भएको बताए । खाद्यान्न र इन्धनको मूल्य ह्वात्तै बढेको छ । त्रिमूर्तिले यो युद्धलाई जतिसक्दो चाँडो अन्त्य गर्न सबै देशबासीलाई अपिल गरेका छन् ।

भारतले अहिलेसम्म रुस वा युक्रेनलाई खुलेर समर्थन गरेको छैन । युक्रेनलाई हरसम्भव सहयोग भने दिएको छ । भारतले युक्रेनलाई निरन्तर अत्यावश्यक औषधि आपूर्ति गरिरहेको छ। भारतले सुरक्षा परिषद्को बैठकमा पनि यो कुरालाई प्रमुख रूपमा उल्लेख गरेको छ । भारतले भविष्यमा पनि युक्रेनलाई सबै अत्यावश्यक सामान आपूर्ति गरिरहने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *