पूजा र आकाश फेरि सँगै

डिसी नेपाल
२८ चैत २०७८ ११:१८
196
Shares

काठमाडौं। पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ। निमेष प्रधान निर्देशित फिल्मको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ। पूजा र आकाश फिचर्ड गीतको शब्द र संगीत पनि निर्देशक निमेषकै हो।

आगामी ६ जेठमा प्रदर्शन हुने फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन् भने निर्मातामा रेबिका प्रधान छिन्। निर्देशक निमेषले आफ्नो फिल्ममा नौलो प्रेमकथा प्रस्तुत गरिएको बताए । गायक, गीतकार र संगीतकारसमेत रहेका निमेषले आफ्नो फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने दावी पनि गरे।

फिल्मका प्रस्तुतकर्ता अद्वितीयले आफूहरू निरन्तर नेपाली फिल्म निर्माण गर्ने योजनामा रहेको बताउँदै ‘सम्झना बिर्सना’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।

अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ टिमसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले अभिनेता आकाश आफूलाई सहज लाग्ने बताउँदै दर्शकले आफूहरूलाई यो फिल्ममा पुनः एकपटक संगै देख्न पाउने बताइन्।

‘मलाई आकाश र पलसँग काम गर्न निकै सहज लाग्छ। दर्शकले पनि म र आकाशलाई फेरि एकपटक पर्दामा हेर्न चाहनु भएको छ। त्यसकारण पनि मलाई यो फिल्मप्रति निकै मोह छ,’ उनले भनिन्। फिल्म निकै राम्रो बनेकाले फेरि पनि सबैको माया पाउनेमा ढुक्क रहेको उनले बताइन्।

अभिनेता आकाशले ‘सम्झना बिर्सना’ सम्झन लायक फिल्म भएको बताउँदै कोरोनापछि यही फिल्ममार्फत आफू पर्दामा आउन लागेकोमा दर्शकको माया पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा निर्मात्री रेबिकाले आफूहरूले निकै मिहिनेतका साथ फिल्म बनाएकाले सबैको साथ, हौसला र मायाको आशा राखेको बताइन्।

छायांकार शिव ढकालले दर्शकको मनोरञ्जनका लागि निकै मिहिनेतका साथ फिल्म निर्माण गरिएकाले सफल हुनेमा सतप्रतिशत विश्वस्त रहेको बताए। कोरियोग्राफर कमल राईले हरेक वर्गका दर्शकलाई यो फिल्म मन पर्ने दावी गरे।

आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्। दार्जिलिङ, सिलिगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने संवाद लेखनमा उनलाई शिशिर राणाले साथ दिएका छन्।

फिल्ममा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ। कमल राईको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्सन राम कार्की र कृष्ण प्रधानले सम्हालेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *