‘नकोरिएका सन्दर्भहरु’ विमोचित
काठमाडौँ। अनीता ढुङ्गेलद्वारा लिखित ‘नकोरिएका सन्दर्भहरुः प्रा.डा अन्जनीकुमार शर्माको जीवनचरित’ नामक पुस्तकको लोकार्पण गरिएको छ।
स्व. प्राडा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण गरेकी हुन्। पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. डा. ज्ञानू पाण्डेले डा. अञ्जनीकुमार शर्मा केवल चिकित्सक मात्र नभई प्रेरक समाजसेवी भएकाे बताइन्। “पुस्तकले नेपाली समाजको अज्ञानता हटाउन डा शर्माले खेलेको भूमिका छर्लङ्ग पारेको छ। कलात्मक ढङ्गले लेखिएको पुस्तक पाठकमैत्री छ”, उनले भनिन्।
उनका अनुसार लेखक ढुङ्गेलले तटस्थ र सन्तुलित हिसाबले लेखेकाे पुस्तकमा नेपालको स्वास्थ्य क्षेत्रको सग्लो इतिहास पढ्न पाइन्छ। नेपाली साहित्यको जीवनी लेखन विधामा यस पुस्तकले नयाँ आयाम थप्ने पाण्डेको विश्वास छ।
यसैगरी वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले स्व. डा. अञ्जनीकुमार शर्मा राजादेखि रैतीसम्म सबैको प्रिय व्यक्ति भएको सुनाए। प्राडा. प्रमिला प्रधान र प्लास्टिक सर्जन शङ्करमान राईले स्व. डा.शर्मा प्राज्ञिक व्यक्तित्व भएकाे बताए। उनले भने, “चिकित्सकले रोग तथा स्वास्थ्यसम्बन्धी लेख लेखेर आम जनतालाई जानकारी गराउनुपर्छ भनी लेखन कार्यका लागि उहाँ सदा घच्घच्याइरहनुहुन्थो।”
वरिष्ठ शल्यचिकित्सक डा. सुदीपकुमार भट्टाचार्यले स्व. डा शर्मालाई नेपालको आधुनिक शल्यचिकित्साका जननी भएको दाबी गरे। समाजसेवी पुनमचन्द्र अग्रवालले लाइन्स क्लबमार्फत नेपाली समाज सेवामा स्व. डा. शर्माले अविष्मरणीय योगदान पुर्याएको बताए। वरिष्ठ चिकित्सक डा. गौरीशङ्कर लाल दास तथा बालरोग विशेषज्ञ डा हेमाङ्ग दीक्षितले स्व. डा. शर्माले क्यान्सर रोगको रोकथाम, नियन्त्रण तथा उपचारमा पुर्याएको योगदानमाथि चर्चा गरे।
उक्त पुस्तकको मूल्य रु ५५० रहेको छ। पुस्तक बिक्रीबाट सङ्कलित रकम भक्तपुर क्यान्सर अस्पताललाई प्रदान गरिने बताइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment