नेपालका लागि भारतीय राजदूत बनेर नवीन श्रीवास्तव आउने

डिसी नेपाल
१९ वैशाख २०७९ ११:४७
300
Shares

काठमाडौं । भारतको नयाँ विदेश सचिवमा वरिष्ठ कूटनीतिज्ञ विनय मोहन क्वात्राले पदभार ग्रहण गरेका छन् । यो जानकारी भारतको परराष्ट्र मन्त्रालयले दिएको हो ।

सन् १९९८ ब्याचका भारतीय विदेश सेवा अधिकृत क्वात्राले शनिबार अवकाश पाएका हर्षवर्धन श्रृङ्लाको ठाउँमा कार्यभार सम्हालेका छन् । क्वात्रा यसअघि नेपालका लागि भारतीय राजदूत थिए ।

यसबारेमा ट्वीटरमा जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले लेखेका छन्, ‘विनय क्वात्राले आइतबार बिहान परराष्ट्र सचिवको पदभार ग्रहण गरेका छन्, परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव क्वात्रालाई सफल कार्यकालको शुभकामना दिएको छ ।’

क्वात्रालाई भारतका छिमेकी देशहरूबाहेक अमेरिका, चीन र युरोपसँगको सम्बन्धमा विशेषज्ञ मानिन्छ। हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार अब क्वात्राको स्थानमा नवीन श्रीवास्तव नेपालका लागि भारतीय राजदूत हुनेछन् ।

नवीन श्रीवास्तव हाल विदेश मन्त्रालयमा अतिरिक्त सचिवको रूपमा पूर्वी एशिया डेस्क सम्हालिरहेका छन्। उनलाई चीनसँगको सम्बन्धमा विज्ञ मानिन्छ । उनी मे २०२० मा पूर्वी लद्दाखको स्थितिलाई शान्त पार्न भारत-चीन सैन्य कमाण्डरहरूको बैठकमा सहभागी भएका थिए।

यसै क्रममा क्वात्रा सन् २०२० मा नेपालमा तैनाथ हुनुअघि सन् २०१७ अगस्टदेखि २०२० सम्म फ्रान्सका लागि भारतीय राजदूत थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.