१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पिनसिपमा तीन सय भन्दा बढी खेलाडी

डिसी नेपाल
२४ वैशाख २०७९ १४:०६
100
Shares

मिचिगन, अमेरिका । अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १३ औं संकरणमा तीन सय भन्दा बढी खेलाडीको सहभागिता पक्का भएको छ।

च्याम्पियनसिप मे १३ र १४ तारिकमा अमेरिकाको मिचिगन राज्यमा हुदै छ। च्याम्पियनसिपका लागि मे दश तारिक सम्म खेलाडी दर्ता खुल्ला छ। तर ६ तारिक सम्ममा तीन सय भन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेको आइओएफटीसीको स्थानीय इभेन्ट म्यानेजर अमुल गोर्खालीको भनाइ छ।

“अहिले सम्म खेलाडी दर्ता संख्या तीन सय नाग्यो, दश तारिक सम्म यो संख्या तीन सय ५० भन्दा माथि पुग्ने देखिएको छ” गोर्खालीले भने।

मिचिगनमा हुन लागेको च्याम्पियनसिपको स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमी रहेको छ। इभेन्ट म्यानेजर अमुल गोर्खालीका अनुसार १३ तारिक खेलाडीको वेट लिइने छ। मुख्य प्रतिस्पर्धा भने मे १४ तारिक हुने छ।

च्याम्पियनसिपमा अहिलेसम्म अमेरिका बाहेक आठ देशका खेलाडीले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन्। अमेरिका भित्र पनि मिचिगन बाहेक ११ राज्यका खेलाडीले सहभागिता जनाउदै छन्।

गोर्खालीका अनुसार अमेरिकाका विभिन्न राज्यबाट नेपाली खेलाडी मात्र ३२ जनाले अहिलेसम्म नाम दर्ता गराएका छन्। त्यसपछि क्यानडाबाट एक नेपाली सहित १३ खेलाडीको सहभागिताको टुङ्गो लागेको छ। मेक्सिको, कतार, भारत, दक्षिण कोरिया, फिलिपिन्सबाट पनि खेलाडीले भाग लिने छन्।

नेपालबाट अहिले सम्म दुई खेलाडीले भिषा पाए पनि उनीहरुको सहभागिता पक्का भइनसकेको जनाइएको छ।

च्याम्पियनसिप जुनियर र सिनियर गरि हुनेछ। रोचक पक्ष च्याम्पियनसिपमा कडेट इभेन्ट समावेस गरिएको छ। यो इभेन्टमा पाँच वर्ष मुनि, ६ देखि ७ वर्ष, ८ देखि ९ वर्ष, १० देखि ११ वर्ष र १२ देखि १४ वर्ष उमेर समुहमा प्रतस्पर्धा गराइने छ।

यस्तै जुनियर इभेन्टमा १५ देखि १७ वर्ष र १८ देखि ३२ वर्ष उमेर समुहमा प्रतिस्पर्धा हुने छ। इभेन्ट म्यानेजर गोर्खालीका अनुसार सिनियरमा भने महिला तथा पुरुष दुबै तर्फ विश्व तेक्वान्दो महासंघ डब्लुटीएफ र ओलम्पिक फर्म्याटका तौल समुहमा प्रतस्पर्धा गराइने छ।

मिचिगनको एप्सीलान्टी सिटीमा रहेको इष्टन मिचिगन विश्वविद्यालय स्थित जर्ज गेर्विन गेम ओभर सेन्टरमा हुने च्याम्पियनसिपमा सिनियर पुरुषमा ५४ केजी मुनी, ५८ केजी मुनी, ६३ केजी मुनी, ६८ केजी मुनी, ७४ केजी मुनी, ८० केजी मुनी, ८७ केजी मुनी र ८७ केजी माथि तौल समुहमा समावेस छ।

यस्तै महिला तर्फ ४६ केजी मुनी, ४९ केजी मुनी, ५३ केजी मुनी, ५७ केजीमुनी, ६२ केजी मुनी, ६७ केजी मुनी, ६३ केजी मुनी, ७३ केजी मुनी र ७३ केजी माथि प्रतिस्पर्धा हुने छ।

गोर्खालीका अनुसार ह्याभी वेट बाहेक अन्य तौल समुहमा खेलाडीको दर्ता भइसकेको छ। च्याम्पियनसिप पाँच रिङ्गमा हुने छ।

च्याम्पियनसिपमा रेफ्रि डिरेक्टर युएस तेक्वान्दोका पूर्व सिइओ ब्रस हेरिस रहेका छन्। यस्तै रेफ्रि चियरमा अष्ट्रेलियाका रेने लेभोस रहेका छन्। उनी ओलम्पिक रेफ्रि समेत हुन् । यस्तै अर्का रेफ्रि चियरमा रेमण्ड सु छन् । उनी विश्व तेक्वान्दो पुम्से कमिटीको सदस्य हुन्।

च्याम्पियनसिपमा २२ जना रेफ्रि रहने छन् । जसमा दश जना अन्तर्राष्ट्रिय छन्। अमेरिका बाहिरबाट आठ देशका रेफ्रि छन्।

स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमीका संचालक तथा मुख्य प्रशिक्षक एवं च्याम्पियनसिपका संयोजक लव गोर्खालीले खेलाडीको सहभागिता उत्साहजनक रहेको बातए। “कोभिड-१९ का कारण लामो समयदेखि बन्द दुतावासहरु भर्खर खुल्दै छन्, त्यसले गर्दा अहिले अन्तरवार्ताको मिति चाडो पाउनै गाह्रो भएकाले धेरै छुटे तर पनि जुन रुपमा अहिले सम्म खेलाडी दर्ता भएको छ यो हामीले सोचे भन्दा राम्रो हो” लव गोर्खालीले भने ।

च्याम्पियनसिपमा स्थानीय, जुनियरदेखि यूएस च्याम्पियन खेलेकासम्म खेलाडीले भाग लिने लव गोर्खालीको भनाइ छ। “सिनियर इभेन्टमा यूएसए तेक्वान्दोको अनुभव भएका खेलाडी पनि छन्, रेफ्रि पनि वर्ल्ड तेक्वान्दो र ओलम्पिक खेलाएका छन्।”

गोर्खालीले अव आफुहरु पाहुनाको स्वागतका लागि तयार रहेको बताए। “हामी रेडि टु गोमा छौ। सबै अतिथिको प्रतिक्षामा छौं । उहाँहरुको स्वागतका लागि आतुर छौ।”

च्याम्पियनसिपलाई युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (युयुएनटीफ) र गैरआवासीय नेपाली संघ अमेरिकाको सहयोग रहने छ।

अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हेडक्वाटर पोर्टल्याण्डको आयोजनामा यो च्याम्पियनसिप सन् २००० देखि शुरु भएको हो। शुरुवाती दुई संस्करण नेपालमा भएको च्याम्पिनसिप भारत, हङकङ्ग र बेलायतमा पनि आयोजना भइसकेको छ।

अमेरिकामा यो च्याम्पियनसिप हुन लागेको चौथो पटक हो। यस अगाडि हेडक्वाटर ओरिगनको पोर्टल्याण्डमा मात्र आयोजना हुदै आएको च्याम्पियनसिप अमेरिका भित्र अन्य राज्यमा हुन लागेको पहिलो पटक हो।

च्याम्पियनसिपको १२ औं संस्करण सन् २०१८ मा नेपालमा भएको थियो । १३ ‌औं च्याम्पियनसिप यस अगाडि २०२० मा हुने भनिएकोमा कोभिडका कारण स्थगित भएको थियो।

आइओएफटीसीका महासचिव क्यारेन ब्लाल्कलेज र बोर्ड डाइरेक्टर मास्टर दिवाकर डान महर्जनले संयुक्त अपिल जारी गर्दै भनेका छन् “१३ ‌औं संस्करणमा हामी विश्वलाई स्वागत गर्न आतुर छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.