स्थलगत : लहानमा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

विजयप्रसाद मिश्र
२७ वैशाख २०७९ ०:०५

लहान (सिरहा ) । लहान नगरपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसमा मेयरका उम्मेदवार महेश प्रसाद चौधरी र एमालेका मेयरका उम्मेदवार मुन्नि साह सुडीबीच कडा प्रतिस्पर्धा देखिएको छ । लहान नगरपालिकाको २४ बटै वडाको सर्वेक्षणले दुईबीच कडा प्रतिस्पर्धा देखिएको हो ।

यस अघि एमालेबाट मुनि साहले ११ हजार ३०७ मत ल्याएर नगर प्रमुख पद हात पारेका थिए । उनको प्रतिद्वन्दि नेपाली कांग्रेसका अच्मितलाल चौधरीले ९ हजार १३८ मत ल्याएका थिए । संघीय समाजवादी पार्टीले ५ हजार ७ सय र नेकपा माओवादी केन्द्रले २ हजार ४ सय ९६ मत ल्याएका थिए । अहिले संघीय समाजवादी पार्टी जनता समाजवादी पार्टीमा रुपान्तरण भएको छ ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो पुरानो उम्मेदवारको सट्टा महेश चौधरीलाई प्रतिस्पर्धामा उतारेको छ भने एमालेले पहिलेकै मेयर मुन्नि साह सुडीलाई अगाडी बढाएको छ । जनमत पार्टीबाट बालेश्वर यादव, नेकपा एकीकृत समाजवादीबाट विनोद साह, लोकतान्त्रिक समाजवादी पार्टीबाट मोहमद् आलम आलम, नेपाल मजदुर किसानपार्टीबाट हरिनारायण महतो र राष्टिय प्रजातन्त्रपार्टीबाट सूर्यकुमार साह, महुजन शक्ति पार्टीबाट श्याम कुमार मेस्तरले र समाजिक एकता पार्टीबाट पशुपति सिंहले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट चन्दन चौधरी, पन्नालाल दास, रविन्द्र प्रसाद चौधरी, अरुण शर्मा तिमिल्सिना, लगायतका दर्जन मेयरका उम्मेदवारहरु प्रतिस्पर्धामा उम्मेदवारी दिएका छन् । यीमध्ये केही गाडी प्रयोगका लागि राजनीतिक पार्टीहरुले डमी उम्मेदवार समेत उठाएका छन् ।

अहिले प्रतिस्पर्धामा रहेकामध्ये नेकपा एकीकृत समाजवादीले ४ देखि ५ हजार मत ल्याउने आंकलन गरिएको छ । उक्त मत पहिले नेकपा एमालेमा गएको थियो । तर त्यसैको हाराहारीमा राप्रपाबाट यस अघिको स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवार रहेका लगनलाल चौधरीले ४ हजार ५ सयको हाराहारीमा मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रले २ हजार ४ सय मत ल्याएको थियो ।

यस पटक लहान नगरपालिकामा ५६ हजार मतदाता छन् । जसमध्ये ४५ हजार मत खस्ने आंकलन गरिएको छ । खसेको मत मध्ये नेकपा एकीकृत समाजवादीका उम्मेदवार विनोद साहले संगठन, जातिय र बजारको व्यापारी समुदायको गरी ५ हजार मत ल्याएर तेस्रो स्थान प्राप्त गर्ने देखिन्छ । चौथो, पाँचौ र अन्यमा २ सयदेखि १ हजार पाँचसयसम्मको हाराहारीमा आउने भएकोले उनीहरुको चर्चा कसैले गरिरहेका छैनन् ।
लहान नगरपालिकामा जातिय समिकरण हेर्दा थारु समुदायको ९ हजारभन्दा बढी, दलितहरुको १२ हजार, यादव, पँचवनिया, मुश्लिम र महतोको छुट्टाछट्टै ८ हजारको हाराहारीमा मत रहेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार महेश चौधरीले कोरोनाको कहर भएको बखत दलित, गरिब, सुकुम्बासी समुदायलाई खाद्यान्न बाडेकोले उनी समाजसेवीका रुपमा चर्चामा छन् । जाडोमा कम्मल बाँडने र आफ्नै खर्चले खानेपानीको समस्या समाधान गर्नेकाम लगातार गरिरहेकाले आबाज विहिनहरुको समर्थन प्राप्त गरिरहेका छन् । २०४९ सालमा विद्यार्थी राजनीति गरेर नेविसंघबाट स्थानीय लहान क्याम्पसमा स्ववियू सभापति भएका चौधरी नेपाली कांग्रेस लहान नगरसमितिको सभापतिमा दुईपटक र यसपटक सिरहा जिल्लाको संघीय क्षेत्र नं. १ को क्षेत्रीय सभापति समेत रहिसकेकाले उनी राजनीतिक दाउँपेँच गर्न सक्ने व्यक्तिका रुपमा चिनिन्छन् । ठूलापार्टीहरुबाट चौधरी समुदायका एकजना मात्र उम्मेदवार हुनुले महेश चौधरीलाई सहज भएको छ ।

पहिले लहान नगरपालिकामा जम्मा मत ४५ हजारमा थियो भने अहिले बढेर ५६ हजार पुगेको छ । लहानका स्थानीय पत्रकार तथा सिता नोवेल न्यूज सेन्टरका सञ्चालक दिनेश देवका अनुसार पहिलेका मेयर मुन्नि साहले जीतेपछि जनताले अपेक्षा गरे अनुसारको विकास गर्न नसकेको तथा कोरोनाको कहरका बेला नेपाली कांग्रेसमा महेश चौधरीले पटक पटक राहत वितरण गरेकाले यो बर्ष मेयरमा नेपाली कांग्रेसका महेश चौधरीको अवस्था सुदृढ रहेको बताए ।

सिरहा जिल्लाभरमा लहान नगरपालिकामा मात्र मिनि गठबन्धन भएको छ । यहाँ नेपाली कांग्रेसले मेयर, जनता समाजवादी पार्टीले उपमेयर र दुई वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्रले दुईबटा वडा अध्यक्षको सिट लिएर तालमेल गरेका छन् । यसले महेश चौधरीलाई पहिले नेपाली कांग्रेसले पाएको मत र जनतासमाजवादी पार्टी र माओवादी केन्द्रको समेत मत पाउने देखिन्छ ।

उता एमालेका मेयरका उम्मेदवार मुन्नि साहले पहिले पाएको ११ हजार र राप्रपाको पहिलेको भोट ४ हजार पाँचसय मध्ये एकीकृत समाजवादीले काट्ने ४ हजार घटाउने र राप्रपाको ४ हजार पाँचसय जोडनु पर्दछ । यसरी साहको अहिलको मतदातामा यूवाहरुको मतदाताको संख्या थपिदा पनि २० हजार मत ल्याउन सक्ने स्थिति देखिदैन । अहिले निर्वाचित हुनका लागि १९ देखि २० हजार मतको आवश्यकता पर्दछ ।

नेपाली कांग्रेसका महेश चौधरीले थारु समुदायको ६ हजार, पहाडी समुदायको २ हजार, दलित समुदायको ७ हजार, महतो र पाँचवनियाँ जाति गरेर २ हजार, मुश्लिमको २ हजार, यादवको २ हजार र अन्य ५ सय गरेर २३ हजार ५ सयको हाराहारीमा ल्याउने देखिएको छ । लहान नगरपालिकामा पाँचबर्ष अघिको मतदाताहरुको संख्याभन्दा ११ हजार नयाँ अनुहार थपिएका छन् । नयाँ मतदाताहरुको झुकाव जताबढी जान्छ उतैका उम्मेदवार जित्ने सम्भावना प्रवल हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *