मनाङमा पहिलो पटक आँखा शिविर : ६४ जनाको आँखाको शल्यक्रिया

डिसी नेपाल
१३ जेठ २०७९ ९:४४
60
Shares

लमजुङ। हिमाली जिल्ला मनाङमा पहिलो पटक आँखा शिविर सञ्चालन गरिएको छ। मनाङको चामेमा सञ्चालन गरिएको आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ। मनाङको सदरमुकाम चामेस्थित सामुदायिक आँखा केन्द्रमा सञ्चालित शिविरमा मङ्गलबार र बुधबार गरी ६४ जनाको आँखाको शल्यक्रिया गरिएको हो। ६३ जनाको मोतियाबिन्दुको अत्याधुनिक तरिकाबाट शल्यक्रिया गरिएको छ। एक जनाको आँखामा मासु पलाएकाले शल्यक्रिया गरिएको छ।

शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका कार्यकारी निर्देशक वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका ११ जना प्राविधिक र अन्य स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए। डा. रुइतले ६४ जना वृद्धवृद्धाका आँखाको शल्यक्रिया गरेका थिए । आँखा शिविरमा चारै गाउँपालिकाका नागरिक आएका थिए।

तिलगङ्गा आँखा प्रतिष्ठान, तेज कोहली एण्ड रुइत फाउन्डेशन र सामुदायिक आँखा केन्द्र मनाङको आयोजनामा सञ्चालित शिविरमा करिब नौ सयजनाको आँखा परीक्षण गरिएको थियो। एक सातासम्म गाउँगाउँ पुगेर आँखा जाँच गरिएको थियो।

आँखा परीक्षणपछि शल्यक्रिया गर्नुपर्ने आँखाका बिरामीको चामेमा शिविर सञ्चालन गरेर आँखाको शल्यक्रिया गरिएको छ। तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाका अनुसार शल्यक्रियाका लागि लमजुङ र गोरखाबाट बिरामी आएका थिए। चामे गाउँपालिकासँगै नासो गाउँपालिका मनाङ ङिस्याङ गाउँपालिकाका नागरिक पनि लाभान्वित भएका छन्। विकट नार्पाभूमि गाउँपालिकाको नारगाउँबाट दुई दिन हिँडेर सेवा लिन आएका थिए । आँखासम्बन्धी सेवा कहिल्यै नपाएका नागरिक पनि आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *