गोदाममा आगलागी भएपछि निभाउने क्रममा विष्फोट, १६ जनाको मृत्यु
काठमाडौं । बंगलादेशको दक्षिणपूर्वी सहरमा रहेको कन्टेनर डिपोमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । बंगलादेशको सिताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण डिपोमा विस्फोट भएको हो ।
यहाँ आगलागी भएपछि आगो निभाउन अग्निनियन्त्रकहरूलाई बोलाइएको थियो र यही क्रममा यो विष्फोट भएको हो । घाइतेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र ६० देखि ९० प्रतिशतसम्म जलेको जनाएको छ ।
यद्यपी आगलागीको कारण भने खुल्न सकेको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार डिपोमा राखिएका केही कन्टेनरमा केमिकल मिसाएर राखिएको थियो । जसका कारण आगलागी भएको बताइएको छ ।
स्थानीय पत्रिका प्रोथोमालोका अनुसार विष्फोट यति शक्तिशाली थियो कि नजिकैका केही भवनका झ्यालसमेत फुटेका छन् । घटनास्थलबाट करिब चार किलोमिटरसम्म विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।
देशको दोस्रो ठूलो सहर चटगाउँबाट सीताकुण्ड मात्र ४० किलोमिटर टाढा छ। दुर्घटनापछि सहरका अस्पतालहरू घाइतेहरूले भरिएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार डिपोका कर्मचारी, आगो निभाउन आएका दमकलकर्मी र घटनास्थलमा उपस्थित प्रहरी जवान घाइते भएका छन् ।
डिपोमा करिब ६०० जनाले काम गर्ने यहाँका निर्देशक मुजिबुर रहमानले बताए ।







डिसी नेपाल







Facebook Comment