आठ महिनामै मन्त्री परिवर्तन

डिसी नेपाल
२३ जेठ २०७९ ६:४१

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ । पार्टीभित्र नेताहरूको आन्तरिक व्यवस्थापन गर्न पालैपालो मन्त्री बनाउन लागिएको हो ।

आठ महिनाअघि नै पार्टीले मन्त्री बनाउने क्रममा धेरै नेता मन्त्रीको आकांक्षी भएपछि पालैपालो मन्त्री बनाउने आन्तरिक सहमति भएको थियो । सोही सहमतिअनुसार मन्त्री परिवर्तन गर्न लागिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

सोहीअनुसार पार्टीले सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको काठमाडौंस्थित आलोकनगर पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ नामावली सिफारिस गर्ने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनअघि नै मन्त्रीलाई फिर्ता बोलाउने सहमति भए पनि निर्वाचनपछि बोलाउनुपर्ने सुझाव आएको थियो । स्थानीय तह निर्वाचनअघि नै मन्त्रीलाई फिर्ता बोलाउँदा नराम्रो सन्देश जाने भएकाले केही समयका लागि रोकिएको थियो ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय भएको बताए । नयाँ मन्त्रीको सिफारिस गर्ने अधिकार पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको छ ।

एकीकृत समाजवादी स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई पार्टीले आइतबार नै मन्त्री हुनेको नामावली बुझाइएको छ । उनीहरूलाई आज शपथ गराउने तयारीमा सरकार रहेको छ ।

एकीकृत समाजवादीका एक सचिवालय सदस्यका अनुसार जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय भएको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको छ ।

एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्यमन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठ किसानलाई फिर्ता बोलाएको हो । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *