उदण्ड राज्यमन्त्री वलीले जब ‘मेरो पोइ खै’भन्दै पिट्न थालिन् ….

डिसी नेपाल
१ असार २०७९ ६:२७

तुलसीपुर (दाङ)। बिहानको साढे ८ बजेको थियो । लु१झ ५३७ नम्बरको सरकारी गाडी झन्डा हल्लाउँदै एकराज बस्नेतको घरमा पुग्यो । गाडीबाट झरिन् लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली । स्थानीयले सोचे ‘मन्त्रीज्यू भेटघाटमा आउनु भो ।’

घरधनी एकराज बस्नेतकी श्रीमती मीना बस्नेतको अगाडि पुगेपछि मन्त्री वलीले अनपेक्षित प्रश्न गरिन्, ‘मेरो पोई खै ?’ मन्त्री वली त्यतिमै रोकिइनन् । उनले मीनालाई मुक्का प्रहार गरिन् । नजिकै रहेकी पाँच वर्षकी छोरी एन्जिलालाई पनि प्रहार गरिन् ।

राज्यमन्त्री वलीको प्रहारबाट मीनाको टाउको, शरीरका विभिन्न भागमा भित्री चोट छ भने कपडासमेत च्यातिएको छ । छोरी एन्जिलाको ओठ काटिएको छ । एकराजलाई पैसा दिएर कपडा किनिदिएको भन्दै राज्यमन्त्री वलीले ‘मैले किनिदिएको कपडा मै लैजान्छु,’ भन्दै दराज तोडफोड गरिन् ।

मिनालाई मुक्का प्रहार गरेपछि राज्यमन्त्री वलीले फेरि भनिन्, ‘मेरो एकराज खै छिटो देखा ।’ एकराज १५ दिनदेखि घरमा नभएको परिवारका सदस्यको भनाइ छ ।

बस्नेत माओवादी कार्यकर्ता हुन् । एक वर्षअघि बस्नेतले वलीलाई चुम्बन गरेको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । राज्यमन्त्री वलीले एकराज आफ्नो प्रेमी भएको दाबी गर्दै आएकी छन् ।

के भन्छन् स्थानीय ?
‘बिहान सरर गाडी आयो । हामीले कोही केही कामले आएको होला भन्यौं,’ छिमेकी रचना बुढाथोकीले भनिन्, ‘एकछिनपछि चिच्याएको आवाज सुनियो । एन्जल रुँदै मामुलाई मारे भन्दै मलाई तान्न आइन । म झटपट भित्र गएँ ।’

रचनाका अनुसार राज्यमन्त्री वली ‘एकराजको र मेरो विवाह भइसकेको छ । सिन्दुर हालेको फोटो गाउँको घरमा राखेको छु,’ भन्दै मिनालाई धकेल्दै थिइन् । ‘म डरले बस्न सकिनँ, निस्की हाले, पछि मीनाको जेठाजु, ससुरा र अन्य मान्छे आए । प्रहरी पनि आपछि राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो,’ रचनाले भनिन् ।

प्रहरी भन्छः राज्यमन्त्री बोल्न मान्नुभएको छैन
कुटपिट गर्ने मन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको छ । सुरक्षाको कारण देखाउँदै प्रहरीले तुलसीपुरबाट घोराही लगेको जनाएको छ । मन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्ले नेतृत्वमा कडा सुरक्षाकाबीच जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको छ । वलीलाई बाहिर निकाल्ने क्रमममा प्रहरी र स्थानीयबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो ।

अनुसन्धानमा जुटेको प्रहरीले घटना फरक भएको आशंका गरेको छ । ‘सोधपुछको प्रयास भइरहेको छ । उहाँ त्यति बोल्न मान्नुभएको छैन,’ एसपी काफ्लेले भने, ‘बहालवाला मन्त्री भएकाले पनि अलि कठिनाइ भइरहेको छ । केस अर्कै जस्तो छ । अहिले नै ठ्याक्कै यही हो भन्ने अवस्था छैन, बुझ्दै छौं ।’

राजीनामाको माग गर्दै प्रदर्शन
राज्यमन्त्री वलीलाई कडा कारबाही र राजीनामाको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय तुलसीपुरको गेटमा दिउँसो नाराबाजी गरेका थिए । नीतिनिर्माण तहमा बसेकी राज्यमन्त्री वलीले सत्ता र शक्तिको आडमा मात्तिएर घरमा बसिरहेका निर्दोष महिला र बालिकामाथि आक्रमण गर्नु निन्दनीय कार्य भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही र राजीनामाको माग गर्दै आक्रोशित स्थानीयले नाराबाजी गरेका थिए ।

यसैबीच राज्यमन्त्री वलीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा दुव्र्यवहारविरुद्ध जाहेरी परेको छ । पीडित महिलाले आफूलाई कुटपिट गर्दै दुव्र्यवहार गरेको गरेको उजुरी दिएको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *