इतिहास रच्दै चार महिला डीआइजी बन्दै

डिसी नेपाल
१० असार २०७९ ६:४४

काठमाडौं । नेपाल प्रहरीमा रिक्त प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा १७ एसएसपी बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले बुधबार राति १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

हालका आईजीपी धिरजप्रताप सिंहले २०७९ चैतमा अवकाश पाएपछि अहिले बढुवामा परेकै ब्याचबाट एआईजी बन्ने प्रहरी अधिकारी आईजीपी बन्ने छन् ।

डीआईजी बढुवाका लागि सिफारिसमा पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर पहिलो र दोस्रो नम्बरमा प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई छन् । राई एसएसपी हुँदा पनि सोही वरियतामा थिए ।

यसैगरी, तेस्रो नम्बरमा अशोक सिंह, चौथौ नम्बरमा दीपक थापा, पाँचौंमा श्यामलाल ज्ञवाली, छैटौंमा किरण बज्राचार्य, सातौंमा सन्दिप भण्डारी, आठौंमा सुदिप गिरी बढुवा सिफारिसमा परेका छन् । गिरी हाल काठमाडौं प्रहरी प्रमुख छन् ।

गृह मन्त्रालय बढुवा सिफारिस समितिको सिफारिसअनुसार नवौं नम्बरमा मिरा चौधरी, दसौंमा टेकबहादुर तामाङ, एघारौंमा उमेशराज जोशी छन् । जोशी उपत्यका ट्राफिक प्रहरी प्रमुख छन् ।

त्यस्तै, १२औं नम्बरमा भिमप्रसाद ढकाल, १३औंमा रामदत्त जोशी, १४औंमा पोषराज पोखरेल, १५औंमा बुद्धिराज गुरुङ, १६औंमा दुर्गा सिंह र १७औंमा किरण राणा बढुवा सिफारिसमा परेका छन् ।

डीआईजीमा बढुवाका लागि सिफारिसमा परेका कुँवर १३औं नम्बरबाट छलाङ मार्दै एकैपटक पहिलो नम्बरमा उक्लिएका हुन् । उनी प्रहरी उपरीक्षक (एसपी) बढुवा हुँदा पाँचौं र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा हुँदा छैटौं नम्बर र प्रहरी निरीक्षकका रूपमा नियुक्त हुँदा पहिलो नम्बरमै थिए ।

त्यस्तै, एसपीबाट एसएसपी हुँदा पहिलो नम्बरमा बढुवामा परेका भण्डारी भने डीआईजी बढुवा सिफारिसम पर्दा ६ स्थानपछि पर्दै ७औंमा परेका छन् ।

यसपटक नेपाल प्रहरीमा एकैपटक चार महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन् । प्रहरीमा यसअघि एकैपटक दुईजना महिला अधिकृत डीआईजी बनेका थिए ।

गृह मन्त्रालयले गरेको बढुवा सिफारिसअनुसार २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना एकैपटक डीआईजी बढुवा सिफारिसमा परेका हुन् ।

यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । हालका आईजीपी सिंहपछि आईजीपी बन्ने दौडमा उनीहरू चारै जनालाईसमेत अवसर प्राप्त गर्ने बाटो खुलेको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *