सापट (कविता)
मलाई एक मुठ्ठी प्रेम सापट देउ
प्रेमले भरिएका कहानी लेखिदिन्छु
मायाले भरिएका शब्दहरू कोरिदिन्छु
म तिमीलाई सापटी फिर्ता गरिदिन्छु
प्रेमले बाधिएका मायाका भाकाहरू।
मलाई एक चिम्टी जिजिविषा सापट देउ
सारा जीवहरूमा जीवन गीत बनाइदिन्छु
जीवनहरूमा मुख्य धार बनेर मुस्काइदिन्छु
सरल जीउने साध्य भएर साधना बनिदिन्छु
मात्र जीवनरसको दिपक प्रज्वलित गरिदिन्छु।
मलाई जीवनको एक निमेष विश्वास सापट देउ
म जीवनमा जीउने आधारस्तम्भ खडा गरिदिन्छु
जीवनका हरेक ऋतुहरूमा विवेक बनेर आउछु
म तिमीलाईं तिम्रो सापटी पुन: फिर्ता गरिदिन्छु
आफैमा विश्वासनीय जीवन दर्पण बनाइदिन्छु।
मलाई एक पलको दृष्टि समता सापट देउ
म हरेक दृष्टिहरूमा समानता कायम गरिदिन्छु
सबै सबैमा समान भावहरू स्थापित गरिदिन्छु
मित्रवत भावनामा जीवन प्रज्वलित बनाइदिन्छु
फेरि तिम्रो सापट तिमीलाई नै फिर्ता गरिदिन्छु
सवल दृष्टिकोणमा मुस्काँइरहेको जीवन यात्रा।।
बिरूवा, भक्तपुर।
२०७८/०३/१०
No ads found for this position

डिसी नेपाल
Facebook Comment