देउवा-प्रचण्डबीच छलफल, अर्थमन्त्रीको बहिर्गमनको पक्षमा देउवा
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामाको लागि चौतर्फी दबाव बढिरहेका बेला मंगलबार सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।
अर्थमन्त्रीले राजीनामा नदिए बर्खास्त गर्न प्रधानमन्त्री देउवामाथि दबाव बढिरहेका बेला प्रधानमन्त्री देउवाले प्रचण्डसँग छलफल गरेका हुन्। स्रोतका अनुसार देउवा र प्रचण्डबीच दुई विकल्पमाथि छलफल भएको थियो।
बाहिर सार्वजनिक भएको विषयलाई संसदीय परम्परा अनुसार छानवीन गर्ने र त्यसको प्रतिवेदनका आधारमा निष्कर्षमा पुग्ने पहिलो विकल्पमा छलफल भएको थियो। त्यसबाहेक आन्तरिक रुपमा छानवीन गरेर प्रधानमन्त्रीले निर्णय गर्ने दोस्रो विकल्पमा छलफल भएको थियो।
सो छलफलमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बुधबार विहान सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अर्थमन्त्रीका विषयमा संसदीय छानबिन समिति बनाएर टुंगो लगाउने पर्ने बताएका छन्।
‘बजेट निर्माणको बेलाको विषयलाईसमेत जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ, विगतमा पनि संसदको यस्तो परम्परा छ,’ खड्काले लेखेका छन्।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्वोधन गर्दै अर्थमन्त्रीका विषयमा प्रधानमन्त्री देउवाले संसदलाई जानकारी दिनुपर्ने बताएका थिए।
बजेट निर्माणको अघिल्लो रात अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराइ करका दर हेरफेर भएको सार्वजनिक भएपछि अर्थमन्त्रीमाथि राजीनामाको दबाव बढिहरेको छ। अनाधिकृत व्यक्ति प्रवेश गरेको सीसीटीभी फुटेज डिलिट भएको सार्वजनिक भएपनि अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि पनि दबाव बढेको छ।
मंगलबार देउवा र प्रचण्डबीच भएको छलफलमा पनि सार्वननिक पदमा बसेको व्यक्तिले नियम, कानुन र विधान अनुसार काम गर्नुपर्नेमा अर्थमन्त्रीबाट त्यस्तो नभएको कुरा उठेको थियो।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अर्थमन्त्रीका विषयमा सार्वजनिक भएका विवरणप्रति प्रधानमन्त्री चिन्तित बनेको बताए। उनले प्रधानमन्त्री आन्तरिक रुपमा बुझेर निष्कर्षमा पुग्ने बताए। ‘अहिले बाहिर सार्वजनिक भएका विषयमा प्रधानमन्त्री चिन्तित हुनुहुन्छ,’ डा. महतले डिसी नेपालसँग भने, ‘प्रधानमन्त्रीले आन्तरिक रुपमा बुझिरहनु भएको छ। कुनै निष्कर्षमा पुगेपछि थाहा पाउनुहुन्छ।’
सत्ता साझेदार दल जसपा अध्यक्ष उपेन्द्र यादवले यो विषय प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले सल्टाउनु पर्ने बताए। आफूले यो विषयमा टिप्पणी गर्नु भन्दा पनि प्रधानमन्त्री र प्रचण्ड मिलेर विषयलाई सल्टाउनु उचित हुने उनको भनाइ छ।







डिसी नेपाल








Facebook Comment