संवैधानिक परिषद् सम्बन्धि विधेयकको सर्वत्र विरोध, कसले के भने ?

डिसी नेपाल
२७ असार २०७९ १३:१७
68
Shares

काठमाडौं। सकारले संवैधानिक परिषद् सम्बन्धि विधेयक राष्ट्रिय सभामा पेश गरेपछि त्यसप्रति सत्तारुढ र प्रतिपक्ष दुवै दलका नेताहरुले विरोध जनाएका छन्।

सरकारले संविधानको मर्म विपरित विधेयक ल्याएको आरोप दलका नेताहरुले लगाएका छन्। विधेयकको चर्को विरोध गर्नेमा प्रमुख प्रतिपक्षी दलभन्दा सत्तारुढ दलका नेताहरु बढी देखिएका छन्।

अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको प्रावधान हुवहु समेटी वर्तमान सरकारले विधेयक ल्याएको आरोप विभिन्न दलका नेताहरुको रहेको छ।

ओलीले ल्याएको अध्यादेशको नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले त्यतिबेला विरोध जनाएका थिए। तर अहिले उनले जुन प्रावधानको त्यतिबेला विरोध गरेका थिए सोही प्रावधान राखेर विधेयक राष्ट्रिय सभामा पेश गरेका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले पेश गरेको विधेयक गलत भएका कारण एक-दुई दिन भित्र फिर्ता हुने दाबी गरेका छन्। ‘पूर्ववर्ति सरकारले यस्तै विधेयक ल्याउँदै गर्दा कांग्रेसले गलत भन्यो, संविधानविपरीत भएकाले मान्दैनौं भनेर कांग्रेसले भन्यो, सभापति त्यो बैठकमा भाग लिन नै जानुभएन। हिजो गलत भनेको कुरालाई आज हामीले सही भन्न पाउँछौं? पाउँदैनौं। हिजो गलत थियो भने आज पनि गलत छ। हामीलाई गल्ती गर्ने छुट छैन भनेर देउवासँग हिजो भएको भेटमा भनिसकेका छौँ। आज–भोलिमा त्यो विधेयक फिर्ता हुन्छ,’ थापाले आज ललितपुरको इमाडोलमा आयोजना गरिएको एक कार्यक्रमा भने।

नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विधेयकको विरोध जनाएका छन्। उनले विधेयक अविलम्ब फिर्ता हुनपर्ने बताएका छन्। ‘ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी!,’ शर्माले भने, ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी? हुन्छ कसरी? गर्छ कसले? सल्लाह दिन्छ कसले ? यो दुःखद छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ।’

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संसदमा प्रस्तुत गरिएको संवैधानिक परिषद् ऐन संशोधन सम्बन्धि विधेयक पाँच दलीय गठबन्धनमा अविलम्ब छलफल गर्नुपर्ने माग गरेका छन्। यसमा सार्वजनिक बहस पनि हुनुपर्ने उनले जनाए।

‘संवैधानिक परिषद ऐन संशोधन विधेयकको हकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश मार्फत ल्याएको र हामी सबैल बिरोध गरेको प्राबधान नै ल्याउन खोज्नु नैतिक र उपयुक्त हुन सक्दैन्। यस्तो दोहोरो मापदण्ड प्रदर्शन नगरौं,’ माओवादी नेता श्रेष्ठले भनेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधानको अक्षर र भावना विपरित सरकारले राष्ट्रिय सभामा विधेयक पेश गरेको आरोप लगाएका छन्। उनले तत्काल विधेयक फिर्ता गर्न सरकारलाई आग्रह समेत गरेका छन्।

‘संविधानको अक्षर र भावना विपरित सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद् सम्बन्धि बिधेयकको बिरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु। सत्तामा बस्नेहरुले आफ्नो अनुकुल संविधान भत्काउने होईन बरु संविधान अनुकुल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन,’ सचिव भट्टराइले भने।

नेकपा एमालेका अर्का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री देउवाले सर्वस्तावाद लाद्न खोजेको आरोप लगाएका छन्।

‘देउवासँग डेमोक्रेसीसँगै हिड्नै सक्दैन, हेज्मोक्रेसी र सर्वस्तावाद मात्र सँगै हिड्ने गरेको इतिहास छ । अब गगन र विश्वप्रकाशतिर एकसाथ प्रश्न फर्कियो –के अहिले गठबन्धन सरकारले ल्याएको अध्यादेश अग्रगामी हुन् ? हिजो २८ –३० महिना बैठकमा नगएर आजित गराउने देउवाले अहिले कति पल्ट बैठक डाके ?,’ बाँस्कोटाले प्रश्न गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.