राजीनामा नदिइ राष्ट्रपति भागेपछि श्रीलंकामा बबाल, प्रधानमन्त्री निवासमा कब्जा, संकटकाल लगाइयो

डिसी नेपाल
२९ असार २०७९ १३:२१
572
Shares

काठमाडौं । श्रीलंकामा आर्थिक-राजनीतिक संकट गहिरो हुँदै गइरहेको छ। यसैबीच, गोटाबाया राजापाक्षे देश छाडेर माल्दिभ्स गएकाले जनतामा आक्रोश बढेको छ । गोटबायाले हालसम्म राजीनामा समेत नदिँदा आक्रोशित जनताले आज संसद भवन र प्रधानमन्त्री भवन घेराबन्दी गरेका छन् । श्रीलंकामा हाल संकटकाल लगाइएको छ ।

अर्कोतर्फ गोटाबाया राजपाक्षे हाल माल्दिभ्समा छन् । यहाँबाट उनी दुबई जाँदैछन् । आर्थिक मन्दीको बीचमा विगतमा आक्रोशित जनताले राष्ट्रपति भवन कब्जा गरेर प्रधानमन्त्रीको निजी निवासमा आगजनी गरेका थिए । श्रीलंकामा प्रदर्शनकारी सुरक्षा घेरा तोडेर प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । यी मानिसहरूले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा पनि मागिरहेका छन्। रनिल विक्रमासिङ्घेको निजी निवासमा पनि आन्दोलनकारीले आगजनी गरिसकेका छन् ।

गोटाबाया राजापाक्षे भागेपछि श्रीलंकाका जनता आक्रोशित छन् । प्रदर्शनकारीले संसद र प्रधानमन्त्री भवनमा तोडफोड गरेका छन् । उनीहरुमाथि लाठीचार्ज भइरहेको छ । यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकामा संकटकालको घोषणा गरेका छन् । दंगा गर्नेलाई पक्राउ गरी सवारी साधन जफत गर्न निर्देशन दिइएको छ ।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निवासमा ठूलो संख्यामा प्रदर्शनकारी पुगेका छन् । त्यहाँ ठूलो सुरक्षा बल पनि तैनाथ गरिएको छ । यसैबीच, सुरक्षा बलहरूले लाठीचार्ज र अश्रु ग्यासका सेलहरू समेत प्रहार गरेका छन्, साथै श्रीलंकाको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ।

गोटाबायाले राजीनामा नदिई देश छाडेपछि भीड आक्रोशित छ । यसबाहेक यी मानिसहरू प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपतिको रूपमा हेर्न चाहँदैनन्। वास्तवमा श्रीलंकाको कानुनअनुसार राष्ट्रपतिले राजीनामा दिएपछि प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्रपति बनाइन्छ। तर जनताले अहिले यो चाहँदैनन् ।

सभामुख अभयवर्धनेलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सकिने खबर पनि आएको छ । यसप्रति जनतामा पनि असन्तुष्टि छ । अब श्रीलंकामा सर्वदलीय सरकार बन्ने भएको छ । यसैबीच विपक्षी दलहरुले सभामुखलाई राष्ट्रपति बनाएमा विपक्षी दलका नेता साजिद प्रेमदासालाई प्रधानमन्त्री बनाउनुपर्ने माग राखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *