उपसभामुखको निर्वाचन आज, पुष्पा भुसाल र विद्या भट्टराईबीच प्रतिश्पर्धा

डिसी नेपाल
३१ असार २०७९ ६:५६
44
Shares

काठमाडौं। तत्कालीन उपसभामुखले राजीनामा दिएपछि करिब तीन वर्षदेखि रिक्त रहेको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिष्पर्धा हुने भएको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सचेतक समेत रहेकी पुष्पा भुषाल र प्रतिपक्ष दल एमालेका तर्फबाट विद्या भट्टराईले उम्मे्दवारी दिएका छन्।

भुषालको प्रस्तावकमा नेपाल माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका छन्।

यस्तै भट्टराईको प्रस्तावकमा एमालेका सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्। गठबन्धनबाट उम्मेद्वार बनेकी भुषाल २०७४ सालमा पनि उपसभामुखको उम्मेदवार बनेकी थिइन्। त्यतिबेला भुषाल एमाले–माओवादी केन्द्रको सत्ता गठबन्धनको साझा उम्मेदवार शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्।

भुषाल २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएकी हुन्।

यस्तै एमालेबाट उपसभामुख पदकालागि उम्मेद्वारी दिएकी एमाले उम्मेदवार भट्टराई कास्की क्षेत्र नम्बर २ बाट २०७६ सालमा भएको उपनिर्वाचनमा विजयी भएकी थिइन्। उम्मेदवारी दर्तापछि भट्टराईले पनि संसदलाई प्रभावकारी बनाउनुका साथै संवैधानिक भूमिका पूरा गर्ने उल्लेख गरिन्।

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि तत्कालीन नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए। संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।

यस्तै प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनेगरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।

संसदमा अहिले नेकपा एमालेका ९८, नेपाली कांग्रेसका ६३, माओवादी केन्द्रका ४९ जना सांसद छन्। यस्तै नेकपा एसबाट २३, जसपा २१, लोसपा १३, राष्ट्रिय जनमोर्चा १, राप्रपा १, नेमकिपा १ र स्वतन्त्र १ जना सांसद रहेका छन्।

अहिले सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी छन्। झण्डै तीन बर्ष देखि रिक्त उपसभामुख चयन प्रक्रिया सुरुभएपनि अझै राष्ट्रियसभा उपाध्यक्ष र संसदीय समितिका सभापतिहरु भने चयन हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.