उपसभामुख निर्वाचन : यस्ताे छ संसदकाे अंकगणित, अनिर्णित लोसपा

डिसी नेपाल
३१ असार २०७९ ७:५३
732
Shares

काठमाडौं। तत्कालीन उपसभामुखले राजीनामा दिएपछि करिब तीन वर्षदेखि रिक्त रहेको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिष्पर्धा हुने भएको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सचेतक समेत रहेकी पुष्पा भुषाल र प्रतिपक्ष दल एमालेका तर्फबाट विद्या भट्टराईले उम्मे्दवारी दिएका छन्।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन्।

एमालेको पक्षमा ९८ जना मात्रै सांसद छन्। उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ।

सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् । चार सांसद रिक्त छन् भने चार जना निलम्बनमा छन्। १३४ मत भए बहुमत पुग्ने हुँदा कांग्रेस, माओवादी र नेकपा एसको मत नै जितका लागि पर्याप्त छ।

अनिर्णित लोसपा
१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन । लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने बैठकले टुंगो लगाउने छ।

उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराई चुनावी मैदानमा छन्। तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.