जनार्दन प्रकरणः सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा प्रहरीलाई, पत्रकारसँग पनि सोधपुछ गरिने

डिसी नेपाल
३ साउन २०७९ २१:१७
388
Shares

काठमाडौं । अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको बिषयमा छानबिन गर्न गठित छानविन समितिले डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको थियो।

समितिका सचिव सुरेन्द्र अर्यालले समितिको बैठकमा विज्ञले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हुने भए पनि रिकभर गर्न आधिकारिक सफट्वेयर आवश्यक हुने भएकाले हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै फरेन्सी ल्याबमा पठाउने भएको हो ।

जेठ महिनाको सीसीटीभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सिसिटिभी फुटेज दिन आनाकानी गरेपछि समग्र सीसीटीभी सिस्टम नै मगाएर समितिले अध्ययन गरेको थियो जसमा फुटेज डिलिट भएको पाइएको थियो।

समितिले अर्थ मन्त्रालयका बजेट निर्माण सहयोगी भूमिका खेल्ने सामान्य कर्मचारीदेखि जेठ १३ र १४ गते अर्थ मन्त्रालयमा खटिने सुरक्षाकर्मीलाई समेत सोधपुछ गरिसकेको छ । समितिको बुधबारको बैठकमा बजेट निर्माण प्रक्रियामा विगतको अर्थ मन्त्रालयको अभ्यासका विषयमा अनुभवी पूर्वअर्थ सचिव र राजश्व सचिवसँग छलफल गर्ने तयारी गरेको छ।

त्यस्तै समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बाहिरी मान्छे प्रवेश गराएको समाचार बाहिर ल्याउने मिडियाका पत्रकार र सम्पादकसँग पनि छलफल गर्ने तयारी रहेको छ।

समितिले बुधबार वा बिहीबार बस्ने समिति बैठकमा निर्वतमान अर्थमन्त्री शर्मालाई सोधपुछको लागि बोलाउने तयारी गरेको छ । समितिका सचिव अर्यालले समितिले अहिलेसम्म अनुसन्धान क्रममा रहेकाले निर्णय कस्तो गर्ने भन्ने विषयमा नपुगेको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.