विल भन्छन्–ओस्कारमा मानसिक सन्तुलन गुमाएको थिएँ

डिसी नेपाल
१५ साउन २०७९ १३:२९
512
Shares

न्युयोर्क। हलिउड अभिनेता विल स्मिथ ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हिर्काएपछि लगातार चर्चामा छन्। यो घटनाको ४ महिनापछि अभिनेताले सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै क्रिससँग पुनः एकपटक माफी मागेका छन्। भिडियोमा उनले आफूले क्रिससँग नियमित कुरा गर्ने कोशिस गरे पनि क्रिस यो कुरामा तयार नभएको दाबी गरेका छन्।

विलले केही कुरा लेख्दै भिडियो सेयर गरेका छन्। ‘म पछिल्लो केही महिनादेखि धेरै कुरा सोचिरहेको छु र यसमा काम पनि गरिरहेको छु। तपाईंहरुले मलाई केही प्रश्न सोध्नुभयो । म आज त्यसको जवाफ दिन्छु। ओस्कार अवार्डमा मैले मानसिक सन्तुलन गुमाएको थिएँ। थाहा छैन मैले के सोचिरहेको थिएँ, धेरै अलमलमा पनि थिएँ’, उनले लेखेका छन्।

उनले आफूले क्रिसको मोबाइलमा कुराकानी गर्न सन्देश पठाएको उल्लेख गरेका छन्। तर, उनी कुराकानी गर्न तयार नभएको विलको गुनासो छ। उनका अनुसार क्रिसले विललाई ‘जब म कुरा गर्ने स्थितिमा आउँछु, तब तपाईंसँग कुरा गर्नेछु’ भनी सन्देशको जवाफ पठाएका छन्।

‘क्रिस म तपाईंसँग माफी पनि माग्न चाहन्छु । मलाई थाहा छ मेरो व्यवहार स्वीकार गर्न लायक थिएन। तपाईंलाई जहिल्यै कुरा गर्न मन लाग्छ, म यहीँ छु’, उनले भनेका छन्।

विलले ओस्कार अवार्ड २०२२ को समयमा क्रिसमाथि थप्पड हिर्काएका थिए। क्रिसले विलकी पत्नीको मुण्डन रोगको बारेमा मजाक गरेपछि विल रिसाएका थिए। सँगै रहेकी श्रीमतिमाथि मजाक गरेपछि विल स्टेजमै गएर क्रिसमाथि थप्पड हिर्काएका थिए।

क्रिसलाई हानेपछि विलले मार्च २९ मा एकेडेमी अफ मोसन पिक्चरबाट राजीनामा दिएका थिए। विलले यसअघि पनि क्रिससँग पटक–पटक माफी मागिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *