अर्थमन्त्रीमा जनार्दन शर्माको पुनरागमनसँगै अर्थसचिव हटाउने चलखेल !

डिसी नेपाल
१५ साउन २०७९ १७:४५
508
Shares

काठमाडौं। अर्थमन्त्रीमा जनार्दन शर्माको पुनरागमनसँगै अर्थसचिव हटाउने चलखेल सुरु भएको छ। स्रोतका अनुसार बहालवाला अर्थसचिव मधुकुमार मरासिनीलाई हटाएर नयाँ सचिव नियुक्त गर्न मोटामोटी रुपमा सहमति जुटिसकेको छ। ‘अहिलेको सचिवलाई हटाएर नयाँ सचिव नियुक्ति गर्ने विषयमा प्रधानमन्त्रीज्यू र नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माबीच सहमति जुटिसकेको छ।’

स्रोतका अनुसार शर्मालाई पुनः अर्थमन्त्री नियुत्तः गर्ने तयारीकै बेला अर्थ सचिव फेर्ने तयारी पनि एकैसाथ चलिरहेको थियो । स्रोतले भन्यो ‘सम्भवतः भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले यो निर्णय लिन सक्छ। प्रधानमन्त्रीज्यूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याललाई ल्याउन चाहनुभएको छ। तर, अर्थमन्त्रीज्यू भने राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलाई नियुक्त गर्न चाहनुहुन्छ ।भोलि बस्ने मन्त्रिपरिषदको बैठकले के निर्णय गर्छ यसै भन्ने अवस्था छैन।’

स्मरणीय छ, गत जेठ २४ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करको दर हेरफेर गरेको आरोप लागेपछि अर्थसचिव मरासिनी स्वास्थ्यको समस्या देखाउँदै बिदा बसेका थिए । तर असार २२ गते शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिएलगत्तै उनी काममा फर्किएका थिए।

अहिले अर्थसचिव मरासिनी भने मन्त्रालयकै आयोजनामा पोखरामा आयोजित एक कार्यक्रममा व्यस्त रहेको बताइएको छ।शनिबार पोखरा गएका उनी सोमबार काठमाडौं फर्किने अर्थसचिव सचिवालयले जानकारी दिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.