यही हप्ता निर्वाचनको मिति घोषणा हुँदै, त्यसअघि लोसपा सरकारमा सहभागी हुने !
फाइल फाेटाे।
काठमाडौं। सरकारले मंसिर पहिलो हप्ता सम्पन्न गर्नेगरि निर्वाचनको मिति तोक्ने तयारी गरेको छ। अब बस्ने मन्त्रिपरिषद बैठकले मंसिर पहिलो हप्ता सम्पन्न गर्नेगरि निर्वाचनको मिति तोक्ने तयारी गरेको हो।
यही साउन २१ गतेभित्र निर्वाचनको मिति तोक्ने गरी तयारी भइरहेको बालुवाटार निकट स्रोतले जनाएको छ। ‘संभवतः अब बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्छ,’ प्रधानमन्त्री निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘मंसिर पहिलो हप्ता नै निर्वाचन गर्ने गरि मिति तोेकिन्छ।’
निर्वाचन आयोगले मंसिर २ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो। सरकारले आयोगको सुझावलाई आधार मानेर मंसिर पहिलो हप्ता गर्नेगरि निर्वाचनको मिति तोक्ने तयारी गरेको हो।
तर निर्वाचनको मिति तोक्नु अगाडि नै बाहिरै बसेर सरकारलाई समर्थन गर्दै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी थालेका छन्।
निर्वाचनको मिति तोकेपछि सरकार पुनर्गठन गर्न नमिल्ने भएका कारण त्यसअघि नै प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा सहभागी गराउने गृहकार्य थालेका हुन्।
बालुवाटार निकट स्रोतका अनुसार लोसपालाई दुई वटा मन्त्रालय दिएर चुनावी सरकारमा सहभागी गराउने तयारी भएको हो। समय र सन्दर्भले साथ दिएमा यही साता मन्त्रिपरिषद पुनर्गठन हुने बालुवाटार निकट स्रोतले जनायो।
स्रोतका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले बहुमत अल्पमतमा नपरी चुनावी सरकारमा मात्रै सहभागी हुन तयार भएपछि देउवा लोसपलाई सरकारमा सहभागी गराउन तयार भएका हुन्। बालुवाटार निकट स्रोतका अनुसार लोसपालाई सरकारमा सहभागी गराउँदा कांग्रेसका केही मन्त्री थपघट गर्ने तयारी गरेका छन्।







डिसी नेपाल








Facebook Comment