आम निर्वाचन : यस्तो छ ओखलढुंगाको संभावित परिदृष्य
काठमाडौं। सरकारले मंसिर ४ मा संघीय र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेसँगै दलहरु चुनावी जोड घटाउमा व्यस्त हुन थालेका छन्। अघिल्लो निर्वाचनमा बाम गठबन्धन गरेर बाम गठबन्धनले प्रचण्ड बहुमत ल्याउँदा यो पटक एमालेलाई एक्लाउँदै बाम-लोकतान्त्रिक गठबन्धन बनेको छ।
पाँच दलीय गठबन्धनले चुनावसम्मै तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेका छन्। एमालेले हालसम्म कसैसँग पनि गठबन्धन गर्ने निर्णय गरेको छैन, तर साना दलसँग तालमेलका लागि अनौपचारिक रुपमा छलफल भइरहेको एमालेले जनाएको छ।
चुनावको मिति नजिकिँदै गर्दा पूर्वी पहाडी जिल्ला ओखलढुंगाको चुनावी माहोल तात्न थालेको छ। अघिल्लो निर्वाचनमा बाम गठबन्धन गरेर संघीय चुनावमा एमालेका यज्ञराज सुनुवार विजयी भएका थिए भने प्रदेश एमाले र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए। एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा यो पटक पनि रोचक भीडन्त हुने अनुमान छ।
एमालेबाट वर्तमान सांसद यज्ञराज सुनुवारले फेरि टिकट पाउने चर्चा चलिरहेका बेला नेपाली कांग्रेसबाट युवा नेता रामहरि खतिवडा टिकटका दाबेदार हुन्।
अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ सय २७ मत प्राप्त गरेका थिए।
२०७२ सालको दोस्रो संविधानसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा क्षेत्र नम्बर एकबाट यज्ञराज सुनुवार र क्षेत्र नम्बर दुईबाट रामहरि खतिवडा निर्वाचित भएका थिए। ०७४ सालको निर्वाचनमा एक निर्वाचन क्षेत्र भएको जिल्लामा यो पटक दुई चर्चित युवा नेताबीच प्रतिश्पर्धा हुने अनुमान छ।
किन भने यो जिल्लामा संघीय चुनावमा कांग्रेसले माओवादीलाई छोड्ने संभावना छ्रैन। यहाँ माओवादीलाई प्रदेशको एक क्षेत्रमा कांग्रेसले माओवादीलाई सघाउन सक्छ। त्यसकारण यहाँ कांग्रेस र एमाले उम्मेदवारबीच नै प्रतिश्पर्धा हुने हो।
निर्वाचन आउँन तीन महिना बाँकी नै रहेकाले कसले टिकट पाउँछ भन्ने अहिले नै निश्चित भइसकेको छैन। कांग्रेसमा खतिवडासँगै बालकृष्ण दाहाल, प्रदीप सुनुवार पनि टिकटका दाबेदार हुन्।
यता एमालेमा सुनुवाइ सशक्त दाबेदार भएपनि जिल्लाका पुराना नेता किशोर अधिकारी, नानीबाबु बुढाथोकी, हाल प्रदेशसभा सदस्य रहेका अमिरबाबु गुरुङ टिकटका दाबेदारी हुन्।
२०६४ को पहिलो संविधानसभा निर्वाचन अगाडि ओखलढुंगामा सधैं कांग्रेस निर्वाचित हुँदै आएको थियो। जिल्लालाई कांग्रेसको गढ मानिदै आएकोमा ०६४ पछिका निर्वाचनमा कांग्रेस कमजोर हुँदै गएको छ।
तर यो पटक परिस्थिति फेरिएको छ। एक नगरपालिकासहित ८ स्थानीय तह रहेको जिल्लामा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले चार स्थानीय तह जित्दै ठूलो दल बनेको छ।
पाँच दलीय गठबन्धन गर्दै निर्वाचनमा होमिएका पाँच दलसँगको प्रतिश्पर्धामा एमाले कमजोर देखिएको छ। एमालेले एउटा स्थानीय तह जितेको छ। एमालेले चार उप्रमुख पनि जितेको छ। माओवादी र जसपाले एक एक स्थानीय तह जित्दा नेकपा एसले एक वडापनि जित्न सकेको छैन।
गएको स्थानीय तह निर्वाचनमा एमालेले वडामा ३० हजार पाँच सय ७७ मत प्राप्त गरेको छ। यसैगरी नेपाली कांग्रेसले ३१ हजार ४ सय ९४ मत पाएको छ। यसमा माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले पाएको मत जोडिएको छैन।
स्थानीय तह निर्वाचनमा ओखलढुंगामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच तामेल भएको थियो।







डिसी नेपाल








Facebook Comment