सप्तरी दुई : उपेन्द्र यादव र सीके राउतको जम्काभेट
काठमाडौं। सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी प्रतिस्पर्धाबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।
आगामी चुनावमा राष्ट्रिय राजनीतिमा बलियो प्रभाव पर्न सक्ने नेताहरु एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने देखिएपछि चुनावी परिमाण र उम्मेदवारको विषयलाई चासो र महत्वका साथ हेरिएको छ।
यस्तै रोचक प्रतिस्पर्धा सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्वर २ मा देखिने भएको छ।यो क्षेत्र जनता समाजवादी पार्टी नेपाल(जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको पर्दछ।
यादव २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भई केपी ओली सरकारमा २०७५ जेठ २४ गतेदेखि २०७६ पुष ०८ गतेसम्म उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका थिए।
अहिले उनै यादवलाई चुनौती दिन जनमत पार्टीका अध्यक्ष सीके राउत सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार दिने पक्का भएको छ। राउतका पार्टीका केन्द्रीय सचिवालयका उपप्रमुख रामनारायण साहका अनुसार सीके राउत क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिन तयारी थालिसकेका छन्। त्यसकारण यादव र राउतको चुनावी भिडन्तको परिदृश्य थप रोचक बन्ने सम्भावना बढेर गएको छ।
राउतले मधेस आन्दोलनबाट राजनीतिमा उदाएका यादवलाई आफ्नो प्रमुख प्रतिस्पर्धी ठानेर चुनावी मैदानमा होमिएका छन्। राउतको जनमत पार्टीले जसपाबाट बनेको मधेस प्रदेश सरकार नेतृत्वविरुद्ध लामो समयसम्म किसान आन्दोलन नै चलाएको थियो।
गत स्थानीय तहको चुनावमा पनि यो क्षेत्रका केही वडामा जनमत पार्टीले जितेको थियो। राउतको घर रहेको वडा सप्तरीको महादेवा गाउँपालिका- २ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो।
यस्तै सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकामा प्रमुख पदमा जनमत पार्टीले जितेको छ।हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझीले जसपाका उम्मेदवारलाई हराएर मेयर जितेका थिए।
यस्तै बलानबिहुल गाउँपालिकामा कांग्रेसका उम्मेदवारलाई हराउँदै जनमत पार्टीका उम्मेदवार खेमचन्द्र यादव र रेणु यादव अध्यक्ष र उपाध्यक्ष चुनिएका हुन्।
तर यादव र राउतको निर्वाचन क्षेत्र भने राजविराज नगरपालिका,महादेवा गाउँपालिका,तिलाठी कोईलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका पर्दछ।
निर्वाचन क्षेत्रमा कस्तो छ मतभार ?
यो क्षेत्रको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको स्थानीय तह राजविराज नगरपालिका पर्दछ। नगरपालिकाको प्रमुख उपप्रमुख सहित १६ वटा वडाहरुमध्ये ८ वटा वडामा जसपाको बहुमत सहितको स्थानीय सरकार बनेको छ।
राउतको जनतम पार्टीले भने कुनै पनि वडामा खाता खोल्न सकेको छैन। नगरपालिकाको १६ वटा वडामा वडाध्यक्षको मतभारलाई आधार मान्दा जसपा धेरै गुणाले अगाडि रहेको छ।
यो नगरपालिकामा जसपाले ७ हजार १ सय ३५ मत पाउँदा जनमत पार्टीले ९ सय ४४ मत मात्र प्राप्त गरेको छ। त्यस्तै महादेवा गाउँपालिकाको प्रमुख उपप्रमुख लोसपाले जितेको छ। तर यहाँको वडाहरुको मतभार हेर्दा जनमत पार्टी र जसपाबीच धेरै मतान्तरले छैन। जम्मा ५ वटा वडा रहेको यो गाउँपालिकामा जनमतले एउटा वडा जितेको छ। तर जसपाले कुनै पनि वडा जित्न सकेको छैन।
यहाँ जसपाले १९ सय ९४ मत प्राप्त गर्दा जनमतले १५ सय ७८ मत प्राप्त गरेको छ। त्यस्तै यही निर्वाचन क्षेत्रमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा पनि जसपाको उपस्थिति राम्रो देखिएको छ। यो स्थानीय तहको प्रमुख उपप्रमुखमा नेपाली कांग्रेसले जिते पनि ८ वटा वडामध्ये ४ वटा वडा जसपा र एउटा जनतमतले जितेको छ।
यहाँ जसपाले ३ हजार १ सय ६२ मत प्राप्त गर्दा जनमतले १ हजार १ सय ६६ मत प्राप्त गरेको छ। र अन्तिममा छिन्नमस्ता गाउँपालिका पर्दछ। यहाँ जम्मा ७ वटा वडाहरु रहेका छन्।
जसमध्ये पालिकाको प्रमुख लोसपा र उपप्रमुख माओवादी केन्द्रले जितेको छ। जसपा र जनमतले एक-एक वटा वडा जितेको छ। तर मतभारमा यहाँ पनि जसपा नै अगाडि रहेको छ।यहाँ जसपाले २ हजार १ सय ३५ मत प्राप्त गर्दा जनमतले ८ सय ५४ मत प्राप्त गरेको छ।
यसरी दलगत प्राप्त मतलाई आधारमान्दा जसपा धेरै माथि रहेकाले उपेन्द्र यादवलाई चुनावमा सजिलो हुने विश्लेषण गरिन्छ। त्यसमाथि यादवको पार्टी केन्द्रीय सरकारको गठबन्धनमा पनि रहेकाले कांग्रेस,माओवादी केन्द्रको पनि साथ पाउँदा चुनावमा उनले धेरै मिहेनत गर्न नपर्ने देखिन्छ।
तर यादवको पहिलो जस्तो ‘क्रेज’नभएकाले र मधेस प्रदेशमा यादवकै पार्टीले नेतृत्व गरेको सरकारविरुद्ध लामो समय किसान आन्दोलन गरेकाले राउतप्रति मतदाता थप आकर्षित हुने विश्लेषण पनि भएको छ। राउतलाई मतदाताप्रति जाने थप आधार भनेको नयाँ व्यक्ति,नयाँ सोच र प्राज्ञिक व्यक्तिका रुपमा प्रस्तुत हुनु पनि हो।
दुई नेता राजनीतिमा कसरी उदाय ?
उपेन्द्र यादव २०६२/०६३ को राजनीति परिवर्तन पश्चात नेपालको राजनीतिमा सँधै केन्द्रीय पात्रको नाममा सुनिरहने नाम हो। २०६३ माघ २ मा अन्तरिम संविधान जलाएको र त्यसपछिको लामो समयसम्म मधेस आन्दोलनको नेतृत्व गरेका कारण नै उनको परिचय फराकिलो भएको हो।
संविधान जलाएपछि गिरफ्तार गरिएका यादवसहित २८ जनालाई रिहा गरिनुपर्ने माग राख्दै सडकमा स्तस्फुर्त रुपमा मधेस आन्दोलन चर्किएको थियो।
झन्डै एक महिना चलेको सो आन्दोलन मत्थर पार्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक हप्तामा दुई पटकसम्म राष्ट्रका नाममा सम्बोधन गर्नुपरेको थियो।
त्यसपछि २०७२ सालको नयाँ संविधान जारी हुने भएपछि सुरु भएको मधेस आन्दोलनको नेतृत्व तथा नाकाबन्दीसम्मको घटनाले उनको परिचय थप ठूलो बनेको थियो। मधेस आन्दोलनका क्रममा सयौँको संख्यामा ज्यान गएको थियो भने त्यति नै संख्याको रुपमा घाईते र अंगभंगको क्षति पनि भएको थियो।
सीके राउत नेपालको राजनीतिमा अनौठो ढंगबाट उदायका नेता हुन्। मधेसकेन्द्रित जसपा, लोसपाभन्दा राउतको पार्टी र उनको परिचय भिन्न रहेको छ। राउत २०७२ सालको नयाँ संविधान जारी भएपछि राजनीतिमा उदायका हुन्। उनले कुनैबेला मधेसलाई छुट्टै राज्य बनाउने एजेण्डा बोकेर हिँडेका थिए।
तर राजनीतिक र सामाजिक रुपान्तरणका लागि उनले हिंसात्मक बाटो भने रोजेनन्। उनी सरकारसँगको सम्झौता अघिसम्मपनि शान्तिपूर्ण जनसंघर्ष नै भन्दै हिँडिरहेका थिए।
त्यही ‘शान्तिपूर्ण’ एजेण्डाले नै उनलाई मुलधारको राजनीतिमा सहज अवतरण गराउने बाटो बन्यो। अहिले यतिवेला उनी आफैंले स्थापना गरेको जनमत पार्टीबाट मुलधारको राजनीतिमा अवतरित हुँदै निर्वाचनमा उम्मेदवारी दिने घोषणा समेत गरिसकेका छन्।
















Facebook Comment