रामबाबु गुरुङकाे ‘फूलबारी’ मा बाबु र छोराबीचको सम्बन्धको कथा

डिसी नेपाल
२६ साउन २०७९ १२:४२
336
Shares

काठमाडौं। प्रायः कमेडी जनराका फिल्महरू निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फूलबारी’ निर्देशन गर्ने भएका छन्। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।

यशोदा फिल्म्स्ले निर्माण गर्ने फिल्ममा विपिन कार्की, दयाहाङ राई, मिरुना मगर, अरुणा कार्की, सिर्जना सुब्बा, सोमनाथ खनाल, प्रियंका कार्कीलगायतको अभिनय रहने छ।

बाबु र छोराबीचको सम्बन्धको कथा भन्ने सामाजिक कथावस्तुमा तयार हुने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ। कमलकिशोर मालपानीको कथालाई उपेन्द्र सुब्बाले लेखेका हुन्। फिल्मका निर्माता मनिष ढकाल हुन्। कमलले आफूहरु राम्रो र स्तरीय फिल्म निर्माण गर्न यस क्षेत्रमा भित्रिएको बताए।

‘नेपाली फिल्मको राम्रो बजार छ। हामी स्तरीय फिल्म दर्शकसम्म पुर्याउन चाहन्छौँ । हामी कति लाग्छतर्फ ध्यान नदिएर दर्शकलाई एउटा स्तरीय फ्याम्ली ड्रामा दिन चाहन्छौँ,’ उनले भने।

निर्देशक गुरुङले पनि आफू कथावस्तु प्रति विश्वस्त भएकै कारण फिल्म निर्देशन गर्न लागेको बताए। ‘पारिवारिक कथावस्तु हो। यसमा सहजै दर्शक कनेक्ट हुनुहुनेछ। र, भूमिकाअनुसारको पात्र मैले पाएको छु,’ उनले भने । फिल्ममा अभिनय गर्न पाउँदा विपिन निकै उत्साहित छन् । आफ्नो उमेरभन्दा बढी उमेरको देखिन तयार हुनुको कारण कथा नै भएको उनले बताए।

‘फिल्मले डिमान्ड गरेको क्यारेक्टरअनुसार म फिल्म गर्न तयार भएको हुँ। म कस्तो छु भन्ने भन्दा पनि मेरो क्यारेक्टर फिल्ममा देखिनुपर्छ । त्यसैले जीवन्त बनाउने मेरो प्रयास रहने छ,’ उनले भने। दया फिल्ममा महत्वपूर्ण भूमिकामा छन्। यद्यपि उनको रोल छोटो नै छ। उनले आफ्नो भूमिकाको बारेमा खुलाएनन्। यस अगाडि निर्देशक गुरुङले ‘पुरानो डुंगा’ सोसल ड्रामा जनरामा तयार गरेका थिए।

यसपटक अघिल्लो फिल्महरूको अनुभवले प्रोजेक्टलाई राम्रो बनाउन मद्दत गर्ने निर्देशक गुरुङ बताउछन्। फिल्मलाई अमेरिकी प्राविधिक जोस हेरमले छायांकन गर्नेछन्। चलचित्रमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *