लगातार फिल्म फ्लप भएपछि राम र शिवको भरोसामा अक्षयको करियर

डिसी नेपाल
२ भदौ २०७९ ११:२२
5.2k
Shares

मुम्बई। पहिला ‘बच्चन पाण्डे’, फेरि ‘सम्राट पृथ्वीराज’ र अहिले ‘रक्षाबन्धन’। वर्ष २०२२ मा एकपछि अर्को लगातार तीन फिल्म फ्लप भएपछि अभिनेता अक्षय कुमार गिर्दो करियरलाई कसरी जोगाउने भन्ने तनावमा छन्।

जबकि सन् २०२१ अगष्टदेखि यो अगस्टसम्म हेर्दा ‘बेल बटम’समेत जोड्दा चौथो फ्लप हो। यो बीचमा उनको मल्टिस्टारर फिल्म ‘सूर्यवंशी’ले मात्र बक्स अफिसमा उत्सव मनायो । जसरी दर्शकको हिन्दी फिल्मलाई लिएर स्वाद फेरिएको छ र बलिउडमा ‘बहिस्कार’को अभियान चलेको छ, त्यसले तमाम कलाकार र निर्देशकलाई चिन्तित बनाएको छ।

अक्षय आफैंलाई पनि उनको ‘रक्षाबन्धन’ पनि फ्लपको सूचीमा पर्छ भन्ने विश्वास थिएन। फिल्मको प्रमोसनका लागि अक्षयले कुनै कसर बाँकी राखेका थिएनन्। उनी सहर–सहर घुमे पनि गत बिहीबार रिलिज भएको फिल्मले मंगलबारसम्म मात्र ३५ करोड १५ लाख रुपैंयाँको कारोबार गरेको छ। रोचक कुरा त के छ भने यो वर्ष अक्षयको फ्लप ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ भन्दा पनि ‘रक्षाबन्धन’ ओपनिङ खराब रह्यो।

अक्षयको लागि बक्स अफिसमा अवस्था जति नै खराब भए पनि यो वर्षका बाँकी महिना र सन् २०२३ को १२ महिना ‘हिट’ हुने अवसर बाँकी नै छ। यो समयमा उनका दुई फिल्म ‘राम सेतु’ र ‘ओ माई गड २’ रिलिज हुँदैछन्, जसको सिधा सम्बन्ध भारतीय संस्कृति र धर्मसँग छ। यो फिल्मको कथा दर्शकले मन पराए भने निश्चित रूपमा अक्षय फेरि पुरानो शक्तिका साथ बक्स अफिसमा उभिन सक्नेछन्।

‘राम सेतु’ एक्सन एडभेञ्चर फिल्म हो। जसमा उनले यस्तो पुरातत्व विज्ञको भूमिका निभाएका छन्, जो रामायणमा भनिएको राम सेतुको खोजी गर्छन्। फिल्म दिवालीको मौकामा २४ अक्टोबरमा रिलिज हुँदैछ।

भगवान रामपछि अक्षयलाई ‘ओ माई गड २’ मा भगवान शिवको सहारा मिल्नेछ। फिल्ममा उनी भगवान शिवको भूमिकामा देखिँदैछन्। सन् २०१२ मा रिलिज कमेडी डामा ‘ओ माई गड’ मा उनी भगवान कृष्ण बनेका थिए। फिल्म महाशिवरात्रीको अवसर पारेर सन् २०२३ मा रिलिज हुने सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *