च्याब्रुङ-धाननाचः संरक्षण अभियानमा पाँचथरे युवा
पाँचथर। पछिल्लो समय मौलिक संस्कृति लोपोन्मुख छ। यही मेसोमा पाँचथरका लिम्बू युवायुवति भने परम्परागत संस्कृति संरक्षणमा अभियान नै सञ्चालनमा जुटेका छन्। केलाङ सांस्कृतिक समाज गठन गरेर यहाँका युवायुवति अभियानतर्फ मोडिएका हुन्।
समाजका अध्यक्ष मनकुमार केरुङका अनुसार यो संस्कृति संरक्षण कार्यमा झण्डै २ सय युवायुवती आवद्ध भइसकेका छन्। उनीहरुले लिम्बू संस्कारको च्याब्रङ बाजा र धाननाचलाई साथसाथ लिएर संरक्षण कार्य गरिरेको समाजकी सदस्य सेसेहाङ सेवा लिम्बूले डिसी नेपाललाई बताइन्।

उनीका अनुसार चिङकुमार राई, ताङछोना नेम्बाङ, सुनम नेम्बाङजस्ता माध्यमिक र उच्च माध्यमिक तहमा पढ्दै गरेका बालबालिकादेखि युवासम्म च्याब्रुङ बजाउँदै धान नाच्न सिपालु भइसकेका छन्।
यहाँको समाजका सदस्यहरु जिल्लाकै फालेलुङ, याङनाम, थर्पु, सुनसरीको धरान, ताप्लेजुङ, झापा, इलामसम्म पुगेर नाच र बाजा प्रस्तृत गरिसकेका छन्।

‘मौलिक संस्कृतिको संरक्षण गर्दै सबै जातजातिको संस्कार सम्मान गर्ने’ उद्देश्य लिएको समाजले पाँचथरमा मात्र १ सय ४६ थरका लिम्बू रहेको र तिनीहरुको संस्कार जोगाउनकै लागि समाज गठन गरेको अध्यक्ष केरुङको भनाइ छ।
यो समाजलाई स्थानीय तहले केही आर्थिक सहयोग पनि गर्न थालेको छ। समाज दर्ता गर्दा लाग्ने खर्चदेखि धार्मिक तथा परम्परागत अवसरमा बाजा र नाच प्रस्तुत गर्न जँदा केही सहयोग पाउने गरेको समाज जनाउँछ। फिदिम- ४ ले समाजलाई १ लाख आर्थिक सहयोग गरिसकेको छ भने त्यो रकमले समाजले आवश्यक सांस्कृतिक बाजाहरु खरिद गरेको छ।

पूर्वमा सकृय रहेको यो समाजलाई महोत्सव, धार्मिक मेलाहरुमा निम्तो दिएर उनीहरुको कला प्रस्तृत गर्न थालिको छ। समाजमा लिम्बूबाहेक राई, नेवार, खवास जातका युवायुवति पनि सदस्य बन्न थालेका छन्।








डिसी नेपाल






Facebook Comment