अनिल कपुरले किन अस्वीकार गरेका थिए बाजीगर ?

डिसी नेपाल
३१ भदौ २०७९ १३:०८
488
Shares

मुम्बई। ‘बाजीगर’ त्यो फिल्म हो, जुन अभिनेता शाहरुख खानको करियरमा एउटा ठूलो टर्निङ पोइन्ट साबित भएको थियो। शाहरुखलाई बलिउडको ‘किङ’ बनाउनका लागि यो फिल्मले ठूलो भूमिका खेलेको छ । तर कमैलाई मात्र थाहा होला कि यो फिल्मको पहिलो रोजाइ शाहरुख थिएनन्।

अजय मल्होत्रा या नक्कली विक्की मल्होत्राको भूमिका शाहरुख नभई अर्को एक कलाकार निभाउने तयारीमा थिए। तर उनले स्क्रिप्ट पढेपछि त्यो फिल्म अस्वीकार गरे। उनी थिए, अनिल कपुर।

फिल्मका निर्देशक अब्बास–मस्तानले ‘झक्कास’ कपुरले फिल्म गर्न किन अस्वीकार गरे भन्ने कुराको हालै खुलासा गरेका छन्। ‘मैले अनिलसँग प्रस्ताव गरेपछि उनलाई कथा पनि सुनाएँ। फिल्मको न्यारेसन सुनेपछि उनले फिल्म गर्न अस्वीकार गरे । उनले आफूले गरिरहेको फिल्मभन्दा बाजीगर फरक फ्लेभरको भएकाले गर्न नसक्ने बताएका थिए। अर्थात् फिल्मको प्रमुख पात्र एन्टी हिरो हुने भएकाले अनिल फिल्मबाट पछि हटे,’ अब्बासले भनेका छन्।

यसपछि शाहरुखसँग टेलभिजन सिरिज ‘फौजी’ मा काम गरिसकेका अमृत पटेलले अब्बासलाई शाहरुखको नाम सिफारिस गरे । पटेलले अब्बासलाई शाहरुखलाई कामप्रति लगाव राख्ने र राम्रो अभिनय गर्ने कलाकारका रुपमा चिनाएका थिए। जब शाहरुख अब्बासकोमा पुगे, तब शाहरुखले कथा भन्न आग्रह गरे । किनकि निर्देशकले फिल्मबाट के चाहन्छन् भन्ने कुरा शाहरुख बुझ्न चाहन्थे।

अब्बासका अनुसार शाहरुखलाई कथा सुनाउन उनमा आत्मविश्वास थिएन। तर पनि उनले कथा सुनाए । कथा सुनेपछि शाहरुख काम गर्न मञ्जुर भए। ‘हाम्रो खराब न्यारेसनपछि पनि शाहरुख यति बौद्धिक थिए कि उनले हामी फिल्मबाट के चाहन्छौं भन्ने कुरा थाहा पाए’, अब्बासले भनेका छन्।

अब्बासले फिल्म रिलिजको दिन थिएटर पुगेर फिल्म हेरेका थिए। फिल्म हेरेका दर्शकले शाहरुखको भूमिकालाई रुचाएको देख्दा उनी छक्क परेका थिए। ‘दर्शकले शाहरुखलाई यति माया गर्छन् भन्ने हामीले सोचेका थिएनौं। उनीहरुको प्रतिक्रिया ‘यो मान्छे सुपरस्टार हो’ जस्तो थियो। दर्शक शाहरुखको पक्षमा थिए’, उनले भनेका छन्।

फिल्ममा काजोल, शिल्पा शेट्टी र दिलीप ताहिलको पनि अभिनय थियो । यो फिल्म सन् १९९३ को सर्वाधिक हिट फिल्म हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *