वर्षौंदेखि अन्धकार बाराको टाँगिया बस्तीमा बल्यो बिजुली

डिसी नेपाल
९ असोज २०७९ ११:५३

काठमाडौं। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१६स्थित टाँगिया बस्तीमा विद्युत पुगेको छ। प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीवासी अँध्यारोमा बस्न बाध्य थिए।

नेपाल विद्युत प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा लाइन पुर्याएर शनिबारबाट टाँगिया बस्तीमा बत्ती बलिएको हो। टाँगिया बस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालकहरू, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित उच्चस्तरीय टोलीले गत फागुनमा टाँगिया बस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स्थानीयसँग छलफल गरेको थियो। टोलीले टाँगिया बस्तीलाई अँध्यारोमा राख्न नहुने भन्दै विद्युतीकरणको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको थियो।

ऊर्जा मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो। पर्यटन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपूर्व गरिने स्थातान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो।

प्राधिकरणका सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले पर्यटन मन्त्रालयले दिएको सहमतिबमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ वत्ति जडान गरिएको बताए।

प्राधिकरणले करिब सात किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको छ। रुख नकाट्न जंगल क्षेत्रमा कभरड कन्डक्टर/इन्सुलेटड कन्डक्टर प्रयोग गरिएको छ। टाँगिया बस्तीमा विद्युत उपलब्ध गराउन एक सय केभिए क्षमताका चार थान वितरण ट्रान्सफर्मर जडान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *