मर्चवारमा राजनीति : युवाले बदल्ने छन् निर्वाचन नतिजा

डिसी नेपाल
२२ असोज २०७९ १४:०५
28
Shares

भैरहवा। आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा भएसँगै दलका नेताहरू टिकटका लागि तछाड मछाडमा छन्। एकै चरणमा निर्वाचन गर्ने सरकारले घोषणा गरेसँगै जिल्लामा मात्रै होइन हरेक निर्वाचन क्षेत्रमा समेत चुनावी सरगर्मी बढेको छ।

निर्वाचन आयाेगले २३ असाेजमा मनोनयन दर्ता गर्ने समय दिएकाे छ। सामान्यतया मनाेनयन दर्तापछि चुनावी माहाेल बन्ने गरे पनि मर्चवार क्षेत्रमा भने यसअघि नै चुनावी माहाेल बनिसकेकाे छ।

रुपन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने यो क्षेत्र मधेशी समुदायको बाहुल्यता छ। सम्मरीमाई, मर्चवारी कोटहीमाई गाउँपालिका र मायादेवी, लुम्बिनी साँस्कृतिक नगरपालिकाका केही वडा पर्ने यो क्षेत्रमा प्रदेश सभाको दुई निर्वाचन क्षेत्र छ।

पाँच वर्षपछि हुन लागेकाे याे निर्वाचनमा सबै दलले आ–आफ्नो दल बलियो रहेकाे दाबी गर्दै आएका छन् । कतिपयले त पार्टि परिवर्त गरेर समेत उम्मेदवारी दिने तयारी गरेका छन् । रुपन्देहीमा प्रतिनिधि सभाका ५ र प्रदेशसभाका १० सिट छ ।

सडक तथा पूर्वाधार, शिक्षा, स्वास्थ्यमा कमजोर मानिएको यो क्षेत्र अझै पनि विकासकाे पुच्छारमा छ । विकासै नभएको भने होइन तर रुपन्देहीको अन्य क्षेत्रमा जुन किसिमको विकास भएको छ त्यसकाे तुलनामा मर्चवार निकै तल छ । मुख्यतया कृषिमा आधारित यस क्षेत्रको समस्या पनि कृषि केन्द्रित नै हुन्छन् । निर्वाचनको समयमा मुख्य मुद्दा नै यही पूर्वाधारको बनाएर मतदाता फकाउँदै आएका नेताले आगामी निर्वाचनमा पनि पुनः यसैलाई नै घोसणा पत्रमा उल्लेख गर्ने छन् ।

पार्टीले उम्मेदवार घोषणा नगर्दै जनताका समस्यालाई एजेन्डा बनाएर मर्चवारमा केही उम्मेदवार घरदैलोमा पुगिसकेका छन् । निर्वाचित सत्तारुढ दलका प्रतिनिधि पनि अन्तिम समयमा आएर पाँच वर्षमा के गरे भन्दै जनतामा प्रचार गर्दै हिडेका छन् ।

प्रमुख दलले उम्मेदवार टुंगो नलगाए पनि मधेशवादी दल तथा स्वतन्त्र उम्मेदवारले चुनावी अभियानमा छन् । पाँच वर्ष कुरेर बसेका नेतालाई पार्टीले टिकट नदिने पक्का भएपछि पार्टी छोडेर टिकट कता पाइन्छ उतै जान पनि थालेका छन् ।

चर्चामा एमाले र माओवादी केन्द्र कम देखिए पनि कांग्रेससहित मधेशवादी पार्टीहरू जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, सिके राउतको जनमत पार्टी, राप्रपालगायतबाट आकांक्षीहरू प्रस्तावित भएको मध्ये केहीको टुङ्गो लागेको छ । केही स्वतन्त्र उम्मेदवार पनि भेटघाटमा छन् । अन्य क्षेत्र जस्तो मर्चवार अझैसम्म कुनै पार्टीको किल्ला बन्न भने सकेको छैन ।

कहिले कुन पार्टी कहिले कुन पार्टीको जितले यहाँ कसले बाजी मार्ला भन्ने आकालन गर्न पनि गाह्राे छ । चुनावपिच्छे मतदाता फेरिने क्षेत्र समेत रहेको मर्चवारमा २०४८ सालको आमचुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता विजयी भएका थिए । मर्चवार भेग पर्ने तत्कालीन रुपन्देही क्षेत्र नम्बर ५ बाट उनी विजयी भएका थिए ।

२०५१ सालमा राप्रपाबाट चुनाव लडेका सर्वेन्द्रनाथ शुक्ला विजयी भए । २०५६ सालको चुनावमा सद्भावनाले दोस्रो पटक चुनाव जित्दा यज्ञजित शाह सांसद बनेका थिए । त्यस्तै २०६४ सालको संविधान सभाको चुनावमा तत्कालीन क्षेत्र नम्बर ६ बाट मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव विजयी बने ।

२०७० सालको संविधान सभाको चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लाले बाजी मारेका थिए । २०७४ सालको संसदीय चुनावमा नेपाली कांग्रेसले पहिलो पटक मर्चवारमा विजयी हासिल गरयो ।

हाल रुपन्देही क्षेत्र नम्बर ४ मा पर्ने मर्चवारमा कांग्रेसका प्रमोद यादव प्रतिनिधिसभा सदस्य छन् भने प्रदेशसभा क मा कांग्रेसबाटै अष्ट भुजा पाठक र ख मा बसिउद्दीन खान विजयी बनेका थिए । यसरी हेर्दा शुक्लाबाहेक अन्य नेता प्राय: दोहोरिएका छैनन् । २०५१ सालमा राप्रपाबाट सांसद भएका सर्वेन्द्रनाथ शुक्ला २०७० सालमा भने तमलोपाबाट विजयी भए ।

मत खेर जान नदिने साेचमा मतदाता

शिक्षामा पछाडि परेका र पारिएका मतदाताहरू अब मत खेर जान नदिने चेतावनी दिँदै आएका छन् । अब विकासप्रेमी नेता रोज्ने स्थानीय शिलसागर यादवले बताए । उने भने, ‘पहिला जस्तौ छैन अहिले विवेक प्रयोग गरी मतदान गर्छौ । विकास गर्ने र जनताका दुःख सुखमा साथ दिने उम्मेदवारलाई जिताउने छौँ ।’

मधेसमा उपेन्द्र यादवले नेतृत्व गरिरहेको मधेसी जनाधिकार फोरम ‘क्रान्तिकारी’ पार्टीको रुपमा थियो । त्यसपछि संघीय समाजवादी फोरम हुँदै अहिले उपेन्द्रले जनता समाजवादी पार्टीको नेतृत्व हाँकेका छन् । तराईमधेश लोकतान्त्रिक पार्टीको प्रभाव एकताका राम्रै थियो । तराई मधेश लोकतान्त्रिक पार्टीले विभिन्न पार्टीलाई जोडेर राष्ट्रिय जनता पार्टी बनायो ।

राष्ट्रिय जनता पार्टी र उपेन्द्रको संघीय समाजवादी फोरम मिलेर जनता समाजवादी पार्टी बन्यो । अहिले जसपाबाट अलग भएर कुनै बेला मधेश केन्द्रीत पार्टी तराई मधेश लोकतान्त्रिक फोरम हाँकेका महन्थ ठाकुरले लोकतान्त्रिक फोरम हाँकेका छन् । मधेस केन्द्रित पार्टीमा भइरहेको बिग्रह र टुटफुटको फाइदा लिने रणनीति डा. सिके राउत नेतृत्वको जनमतले बनाएकाे छ ।

सम्मरीमाई गाउँपालिकामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अध्यक्ष जितेका जितेन्द्रनाथ शुक्ला स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । हारसँगै अहिले उनी अहिले फेरि जनमतबाट प्रदेशसभा उम्मेदवारी दिने तयारीमा छन् ।

केही समय एमालेमा रहेका शुक्ला हारपछि दल चाहार्दै जनमतबाट प्रदेशको दाउमा छन् । २०६० सालमा मधेशी जनअधिकार फोरमबाट संविधानसभा सदस्य भएका ओमप्रकाश यादव गुल्जारी बीचमा एमालेमा थिए । अहिले जसपामा गएका छन् ।

मर्चवारमा कम्युनिष्टकाे कम प्रभाव

मर्चवारमा कम्युनिष्टहरूको प्रभाव खासै देखिँदैन । ०५४ सालमा देशव्यापी रुपमा एमालेले जित्दा पनि मर्चवारमा भने पस्न सकेको थिएन । अहिले पनि एमाले र माओवादीलाई उम्मेदवारसमेत खोज्नुपर्ने अवस्था छ ।

भएका नेता पनि अरु पार्टीमा लागेपछि क्षेत्र नम्बर ४ बाट को लड्ने भन्ने निश्चित छैन । हुन त अहिलेको निर्वाचनमा पनि गठबन्धन कसरी जान्छ भन्ने छ । पर्ख र हेर को अवस्था रहेको मर्चवार क्षेत्रमा पनि प्रतिस्पर्धा क कस्को हुन्छ भन्ने निश्चित छैन ।

११ लाख जनसंख्या रहेको रूपन्देहीमा प्रतिनिधि सभाका ५ र प्रदेश सभाका १० निर्वाचन क्षेत्र छन् । २०७४ सालको निर्वाचनमा १, २ र ३ नम्बर क्षेत्रमा नेकपा एमाले तथा ४ र ५ नम्वर क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । त्यस्तै प्रदेश सभातर्फ एमालेले ५, कांग्रेस ३, नेकपा माओवादी १ र जनता समाजवादी पार्टी (जसपा) ले एक क्षेत्रमा जितेको थियो ।

यो क्षेत्रमा २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ८९ हजार ८३५ मतदाता रहेका थिए अहिले बढेर १ लाख १० हजार ६५९ पुगेको छ ।

प्रदेशसभातर्फ (क) मा ५३ हजार ३८९ र (ख) मा ५७ हजार २७० मतदाता छन् । ५ वर्षको अन्तरालमा २० हजार ८२४ मतदाता थप भएका छन्। थपिएका मतदाता मध्ये अधिकांस युवा नै हो विगतका निर्वाचनमा पनि युवाले नै निर्णायक भूमिका खेल्ने गरेका थिए ।

अहिलेको निर्वाचनमा उम्मेदवार पनि बढि भएकोले युवाहरुको आकर्षणले नै मर्चवारको नतिजामा फेरबदल गर्छ । थपिएका २० हजार मतदाताले मताधिकारको प्रयोग पनि सोच विचार गर्ने गरी तयारीमा छन । पहिला भन्दा अहिले शिक्षित पनि बढि छन, स्थानीय तहको निर्वाचनमा पनि सहभागी भएकोले अब बुझेर मात्रै मत दिने वातावरण बनेको स्थानीय युवा सिताराम कुर्मीले भने ।

गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा छन् । मुख्यतया क्षेत्र नम्बर ४ मा अहिले कांग्रेसबाट निर्वाचित प्रमोद यादव यसपटक पनि उम्मेदवारका लागि सिफारिसमा परेका छन् । एमालेबाट कृष्ण भुसाल सिफारिस भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला पनि उम्मेदवार बन्ने निश्चित छ । गत निर्वाचनमा यादवले राजपाबाट प्रतिस्पर्धी भएका शुक्लालाई पराजित गरेका थिए ।

जसपाबाट कोटहीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्रभुषण यादव, माओवादीबाट सन्तकुमार यादव र मधेसमा प्रभाव विस्तार गरिरहेको जनमत पार्टीले पनि भोपेन्द्र यादवलाई प्रतिनिधी सभाको निर्वाचनका लागि अघि सारेको छ । एमालेबाट उम्मेदवार बनेका ओमप्रकाश यादव अहिले जसपामा प्रवेश गरेका छन् जसपाबाट उनी उम्मेदवार बन्ने आकाक्षा राखेका छन । २०७४ सालमा एमालेबाट उम्मेदवार रहेका यादव तेस्रो भएका थिए ।

यस्तै, प्रदेशसभा तर्फ क बाट कांग्रेसका अष्टभुजा पाठक, एमालेबाट हजरत अलि, सुनिलकुमार गिरी, माओवादीबाट ढुनमुन यादव, लोसपाबाट कन्हैया बनियाँ, जसपाबाट सुनिल जैसवाल र सच्चेतानन्द यादव, जनमतबाट जितेन्द्रनाथ शुक्ल(बब्लु)को चर्चा छ ।

त्यस्तै, प्रदेश सभा ख तर्फ कांग्रेसबाट बसिउद्दिन खान, एमालेबाट विनय मिश्रा, हरिशचन्द्र सिंह, सुनिता ठठेर र रामबचन यादव, माओवादीबाट लालमन यादव, जनमतबाट अर्जुन जैसवाल, लोसपाबाट रामु यादव, मोहनलाल यादव, रामगणेश पाल, जसपाका रामअवतार यादव ,खलिउल्लाह जोलहा र संजय मिश्र पार्टी परित्याग गरी स्वतन्त्रबाट आकाक्षी रहेको चर्चा छ । राप्रपाले भने अहिले क्षेत्र नम्बर ४ मा खुलेर कुनै टुंगो लगाएको छैन ।

मर्चवार क्षेत्रबाट पत्रकारिता गर्देै आएका रामविकास चौधरीले अहिलेको चुनाव पनि युवाहरूको मतमा आधारित रहेकाे बताउँछन् । उनीहरूलाई जसले लैजान सक्याे उसैकाे जित निश्चत रहेकाे उनकाे भनाइ छ ।

दिपक बोहरा उम्मेदवार हुँदा पहिला नेताहरू गाउँका खास खास मुखिया, जमिनदारहरूलाई भेटेर भोट माग्ने, मतदाताले पनि मालिकले जहाँ भन्छन् त्यही भोट हाल्ने गरेका थिए । बिस्तारै यो प्रवृति परिवर्तन हुदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.