पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन एनआरएनलाई प्रधानमन्त्रीको आह्वान

डिसी नेपाल
२५ असोज २०७९ २२:०४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन गैर आवासीय नेपाली (एनआरएन)लाई आह्वान गरेका छन् ।

एनआरएन डे २०२२ का अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले विदेशमा रहेका नेपालीलाई लगानी गर्न सरकारले प्रयाप्त वातावरण बनाएको भन्दै आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन आह्वान गरेका हुन् ।

बिभिन्न माध्यमबाट लगानी गर्नका लागि पनि सरकारले सहजीकरण गर्ने प्रधानमन्त्री देउवाको भनाई छ । त्यस्तै उनले गैर आवासीय नेपालीले उठाउदै आएको नागरिकता सम्न्धी सवाललाई निकट भविष्यमा आवश्यक कानून बनाएर सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उनले नेपालमा उत्पादित वस्तुलाई प्राथमिकता दिएर विदेशमा उपयोगको वातावरण बनाउन सके स्वदेशी उत्पादनको निकासी र प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले आफ्ना देशका नागरिकका जीउ धनको रक्षाका साथै लगानीको संरक्षण गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए । विदेशमा रहेका नेपालीहरुले पनि स्वदेशमा लगानी गरे सरकारले लगानीलाई सुरक्षित गर्न पछि नहट्ने उनको भनाई छ । उनले गैर आवासीय नेपालीलाई नागरिकता दिनका लागि सरकारले आवश्यक व्यवस्था गर्न खोजेपनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसक्दा कानून निर्माण प्रक्रिया अघि बढ्न नसकेको धारणा राखे ।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालमा धेरै नै लगानीको उपयुक्त वातावरण बनेकाले नेपालमा लगानी बढाउन लगाउन गैर आवासीय नेपालीलाई आग्रह गरे ।

कार्यक्रममा गैर आवासीय नेपालीहरुले आफुहरुको नेपाली नागरिकताको समस्या समाधान नभएका कारण लगानीका लागि केहि समस्या देखिएको गुनासो गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *