हरिवंश आचार्यका प्रिय पाँच चरित्र
काठमाडौँ। नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रमा हरिवंश आचार्य चिनाइरहनुपर्ने नाम होइन। चाहे टेलिफिल्म होस्, या फिल्म अथवा टेलिभिजनमा आउने विज्ञापन नै किन नहोस्, हरिवंश जुनसुकै उमेर समूहका दर्शकमाझ रुचाइएका अभिनेता हुन्।
अधिकांशले हरिवंशलाई उनले निभाएको ‘हरिबहादुर’ चरित्रले चिन्छन्। हरिवंशले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म ‘महापुरुष’ यही कात्तिक ११ गतेबाट देशव्यापी रिलिज हुँदैछ। दर्शकका प्रिय हरिवंशलाई आफूले निर्वाह गरेको यी पाँच चरित्र मनपर्दोरहेछः–
अर्जुन (बलिदान)
यसमा मेरो छविभन्दा ठ्याक्कै उल्टो छवि छ। मेरो छवि भनेको हाँसोको छवि हो। यो फिल्ममा चाहिँ क्रान्तिकारीको भूमिका निभाएको छु। यसमा हाँसो भन्ने केही पनि छैन। त्यति गम्भीर विषयवस्तुमा मलाई उहाँहरुले काम गर्ने अवसर दिनुभयो । मैले काम गरें र त्यो काम मान्छेलाई मनपर्यो।
साधुराम सुकुम्बासी (वनपाले)
साधुराम पनि नेगेटिभ चरित्र हो। त्यो चरित्र भिलेनको पनि एक्सट्रिम भिलेनको थियो। उसको बोली नै कर्कस आवाज युक्त थियो । मैले सम्झिने चरित्रमा यो पनि पर्छ।
वडाअध्यक्ष (कान्तिपुर)
यसमा मैले वडाको सोझो अध्यक्षको भूमिका निर्वाह गरेको छु। वडाअध्यक्षसँग कति समस्या हुन्छ भन्ने कुरा देखाइएको छ। अरुको समस्या समाधान गर्न हिँड्ने मान्छे आफ्नो समस्यामा कसरी जेलिएको छ भन्ने प्रस्तुत गरिएको छ।
हरिबहादुर (मदनबहादुर हरिबहादुर)
मलाई लाग्छ हरिबहादुर चरित्र मेरा लागि सर्वाधिक हिट चरित्र हो। जहिँकहीँ जाँदा होस् या कार्यक्रममा गएर बोल्नुपर्यो भने मलाई ‘हरिबहादुर’ भन्दै ठूलो स्वरले बोलाउँछन्। जुनसुकै उमेर समूहका दर्शकको प्रिय बनेको छ, हरिबहादुर।
ध्रुबराम (लालपुर्जा)
ध्रुवरामले भूकम्पले आफ्नो घर भत्किएपछि आफ्नो जग्गा भएर पनि मोहीका कारणले त्यसलाई उपभोग गर्न पाउँदैन। जमिन भएर पनि केही फाइदा लिन नपाउने ध्रुवरामको चरित्रमा अभिनय गरेको छु।
No ads found for this position

डिसी नेपाल
Facebook Comment