‘महापुरुष’ का डेब्यु अनुहार अरुण र अञ्जना

डिसी नेपाल
४ कार्तिक २०७९ ११:४३
132
Shares

काठमाडौँ। भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ बाट डेब्यु गर्दैछन् अरुण क्षेत्री र अञ्जना बराइली। बाल्यकालदेखि नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठूलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेकाछन्।

‘मलाई डर नलागेको होइन। तर मैले त्यसलाई आत्मविश्वासमा बदले। उहाँहरूको आशीर्वाद लिएर डेब्यु गर्न पाउँदाको खुसी व्यक्त गर्ने शब्द नै मसँग छैन’, अरुणले भने । उनी फिल्ममा अडिसनमार्फत सेलेक्ट भएका हुन्।

जापानबाट अभिनयमा आफ्नो भविष्य देखेर नेपाल फर्किएका अरुणले निर्देशक प्रदीप भट्टराईसँग काम गर्ने योजना बनाएका थिए। तर उनको भेट हुनसकेको थिएन। उनले निर्देशक भट्टराईसँगै रबिन्द्रसिंह बानियाँलाई सम्पर्क गर्न प्रयास गरे । ‘त्यो समयमा उहाँहरूको जात्रैजात्रा रिलिज हुँदै थियो। त्यसैले पनि भेट भएन। अहिले उहाँको फिल्मबाट डेब्यु गर्ने अवसर पाएँ’, अरुणले भने।

मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अञ्जना पनि अडिसनमार्फत छानिएकी हुन्। उनी फिल्ममा प्रतिष्ठाको भूमिकामा छिन्। ‘मैले केही फिल्ममा अडिसन पनि दिएकी थिएँ। एक फिल्ममा सेलेक्ट भएर प्रतीक्षा गरें। तर त्यो फिल्म बनेन। यहाँ अडिसन दिएँ’, उनले भनिन्। महजोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा उनको सिकाइ पनि भएको छ। ‘म यहाँका लागि नौलो मान्छे। मलाई रबिन्द्र दाइ र प्रदीप दाइले राम्रोसँग गाइड गर्नुभयो। अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनुभयो’, उनले भनिन्।

अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका बानियाँले बताए। ‘हामीलाई चाहिएको कलाकार उहाँ दुईमा पायौं। अडिसनमा दिइएको उहाँको प्रस्तुतिले प्रभाव छाड्यो। धेरैको अडिसन लिए पनि भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ’, बानियाँले भने। आफूहरूले दया वा मायाले भन्दा पनि कलाकारिता हेरेर दुई नयाँ अनुहारलाई डेब्यु गराउने निर्णय लिएको उनले बताए। ‘दिग्गज कलाकारहरूसँग स्क्रिनमा देखिएको कन्फिडेन्टले अञ्जना र अरुणको भविष्य उज्ज्वल छ, भन्ने लागेको छ’, उनले भने।

कास्टिङ डिरेक्टरको रूपमा काम गर्ने थियटर आर्टिस्ट सुदाम सिकेले नै अरुणलाई षटकोण आर्ट्ससम्म लगेका थिए। ‘हामीले क्यारेक्टर चाहियो भनेपछि सुदामले अरुणको बारेमा जानकारी दिए। अडिसन भयो । उनले भूमिकालाई जीवन्त बनाएपछि हामीले सेलेक्ट गरेका हौँ’, बानियाँले भने।

अरुण र अञ्जना फिल्ममा नयाँ कतै नदेखिने निर्देशक भट्टराई बताउँछन्। ‘हामीले नयाँ प्रतिभालाई स्थान दिनुपर्छ भनेर अडिसनमार्फत खोजेका हौँ । नयाँ पुस्ताको कथा नयाँमार्फत नै भन्न खोजेका छौँ’, उनले भने। फिल्ममा काम गर्दा धेरै सिक्न पाएको अरुणले बताए। ‘पहिलो दृश्यदेखि अन्तिमसम्म उहाँहरूबाट सिकेको सिकाइलाई आउँदो दिनमा प्रयोग गर्ने छु। महजोडीले किन सम्मान पाउनुहुन्छ भन्ने काम गरेपछि झनै थाहा भयो । उहाँले आफू मात्र नभई हामीलाई समेत सिकाउँदै राम्रो कलाकार बनाउनुभयो’, अरुणले भने।

अञ्जना पनि अरुणझैँ महसँग अभिनयलाई बुझ्न पाएको बताउँछिन्। ‘क्यारेक्टर बाच्न उहाँहरूमार्फत सिके । सरलता, सामीप्यता, सहयोगीभावले हामी जस्ता नयाँ कलाकारलाई धेरै हौसला र ऊर्जा थप्छ’, उनले भनिन् । छायांकन अवधिभर अविभावकको कमी महसुस नभएकोसमेत उनले बताइन्।

सामाजिक विषयवस्तुमा आधारित ड्रामामा गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ।

फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रैजात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन्। उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगतेबाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए। यिनै भट्टराई अब चौथो फिल्म लिएर आउन लागेका हुन् । उनी यसपटक यसअघिका फिल्मभन्दा झनै कन्फिडेन्ट देखिएका छन्।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन्। षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *