‘महापुरुष’ को आइतबार बिहानी शो पनि हाउसफुल, दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन

डिसी नेपाल
१३ कार्तिक २०७९ १२:०८
112
Shares

काठमाडौं। दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ।

प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ। फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ। देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो।

यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । फिल्मले शुक्रबार देशभर एक करोडको ग्रस कलेक्सन गरेको थियो।

शनिबार फिल्मको व्यापार साढे एक करोड रहेको निर्माता रविन्द्रसिंह बानियाँले जानकारी दिए। दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन गरेको फिल्मले यो साता लगानी सुरक्षित गर्दै निर्मातालाई मुनाफाको बाटोमा डोर्याउने पक्का छ।

आइतबार पनि सार्वजनिक बिदा परेको छ। छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो। आइतबारको बिहानी शो उच्च अकुपेन्सी रहेको र दिउँसोको शो हाउसफुल रहेको निर्देशक भट्टराईले जानकारी दिए।

टिकट बिक्रीका आधारमा आइतबार ‘महापुरुष’ ले एक करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने देखिएको छ। यदि त्यति व्यापार गरेमा फिल्मले तीन दिनमा साढे तीन करोड ग्रस कलेक्सन गर्ने देखिन्छ। यो नेपालमा भएको फिल्मको व्यापार मात्र हो। निर्माण पक्षले विदेशमा फिल्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छैन।

एकल बाबुको कथा, बुढ्यौली प्रेम तथा पारिवारिक घटनालाई फिल्ममा राम्रोसँग प्रस्तुत गरिएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतको मुख्य भूमिका रहेको छ।

फिल्म हेर्न सम्पूर्ण परिवार नै आउने गरेको देखिएको छ। शनिबार भक्तपुरमा एउटै परिवारका २८ जना फिल्म हेर्न हल पुगेका थिए। जतिले फिल्म हेरे सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्।

हास्यकलाकार मनोज गजुरेलले ‘महापुरुष’ राम्रो बनेको भन्दै निर्माण पक्षलाई बधाई दिएका छन् । फिल्म हेरुञ्जेल कथा आफ्नै जस्तो लागेको उनले उल्लेख गरेका छन्।

‘आफ्ना सन्तानको सुखकालागि संघर्ष गर्ने ‘महापुरुष’ लाई हार्दिक बधाई। आफ्ना एकल बाबाको खुसीका लागि त्याग गर्ने महापुत्रहरुलाई बधाई। एकल बाबाका कथा, व्यथा, त्याग र योगदानलाई सुन्दर ढंगले पस्कने ‘महापुरुष’ टीमलाई बधाई । फिल्म हेरुन्जेल फिल्मको कथा बोलिरहेको थिएन, हाम्रै भोगाइ ब्यक्त भइरहेको थियो। मन र मस्तिष्कलाई एउटै डोरोमा बाँध्नु भएकोमा प्रदीपजीलाई बधाई । महजोडी, गौरी मल्ल लगायत नयाँ पुस्ताका सबै कलाकारलाई बधाई,’ फिल्म हेरेपछि गजुरेलले फेसबुकमा लेखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *