सरोज खनाल निर्देशित चलचित्र ‘बगान’ फागुन १२ मा रिलिज हुने

डिसी नेपाल
१५ कार्तिक २०७९ १२:१७
512
Shares

काठमाडौँ। अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ फागुन १२ गते रिलिज हुने भएको छ। सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच चलचित्र रिलिज मिति, शिर्ष गीत ‘उडि छुनु छ आकाश’को लिरिकल भिडियो तथा टीजर सार्वजनिक गरिएको हो। गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको संगीत र बानिका प्रधानको स्वर रहेको छ।

तीन पुस्ताका कलाकारहरु रहेको यो चलचित्रमा नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय रहेको छ।

कार्यक्रममा चलचित्रको बिषयबारे प्रष्ट पार्दै निर्देशक तथा पटकथाकार खनालले नाटक मंचन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए। “पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजी को कथामा गएर म अड्किएँ। त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ  मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो” खनालले भने, “लेख्नेले त लेखेर आफ्नो दायित्व पुरा गर्नुभयो। एक व्यक्तिले उठाएको मुद्दालाई अन्य व्यक्तिहरुले समाजमा उजागर गर्नु हाम्रो धर्म हुन्छ। त्यसकारण मैले उक्त कथालाई चलचित्रको स्क्रिप्ट लेखी र चलचित्र बनाए।”

खनालले थपे, “यदि अल्पायुमै श्रीमतीको देहावसान भएपछि पुरुषहरुलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो हुन्छ भने के महिलाहरुलाई चाहिँ हुँदैन ? यो प्रश्नले मलाई साह्रै छोएको थियो। हामी एक्काइसौ शताब्दीमा छौं, समानताको कुरा गर्छौं तर कर्म गर्दैनौँ । मैले यो सिनेमाको माध्यमबाट कर्म गर्न खोजेको हो।” उनले चलचित्र मार्फत विधवा पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सवाल उठाएको र त्यसको जिम्मा पनि आजको पिँढिलाई दिएको बताए।

अभिनेत्री बसुन्धरा भुषालले बिधवालाई श्रीमान चाहिने बिषयमा समाजले नराम्रो रुपमा लिन नहुने बताईन्। उनले भनिन्, “यो चलचित्र महिलाहरूको हकहितको लागि हो। पुरुषलाई श्रीमति बितेको तेह्रै दिनमा अर्को श्रीमति आवश्यक पर्ने तर महिलाले एक्लै जीवन कटाउनुपर्छ भन्ने हँदैन। उसलाई त समाजमा जीउन पुरुषको झन् बढि आवश्यकता पर्छ, यो चलचित्रले पनि त्यहि बिषयको वकालत गर्छ।”

अभिनेता नीर शाहले उत्कृष्टताको क्लाइमेक्स यदि दुईवटा शब्दमा मात्र व्यक्त गर्नुपर्ने भयो भने आफुले साह्रै गर्वका साथ सरोज खनाल भन्न सक्ने बताए। उनले भने, “हि इज एक्सेलेन्ट भन्नुपर्‍यो भने मैले सरोज खनाल भन्छु । यो नामले मेरो दृष्टिकोणमा त्यो मुल्य राख्दछ।” शाहले आफुले अधिकांश समय बिधवा बिवाहको बारेका वकालत गरिरहेको बताउँदै भने, “मैले चैतन्य प्राप्त गरेदेखी अधिकांश समय बिधवा महिलाको बिवाहको लागि लडिरहेको छु, मेरो पहिलो चलचित्र ‘सिन्दुर’ पनि यहि बिषयमा थियो।” आफ्नो भुमिकाबारे ठट्टा गर्दै उनले भने, “जुन कुराको लागि सँधै लडिरहेँ, त्यहि हुनुहुँदैन भन्ने भुमिका यो चलचित्रमा गर्नुपऱ्यो।”

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो लामो चलचित्र करियरमा कहिल्यै उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको बताईन्। मानन्धर भन्छिन्, “मैले कहिल्यै पनि बेस्ट एक्टर भनेर अवार्ड पाईन। मेरो यति लामो करियर छ, मैले जहिले पनि मेकअप र लुगामा मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो। ‘बगान’मा मैले त्यो पाएकी छु, जुन मैले अभिनय गर्न चाहेकी थिएँ। यो चलचित्रमा अभिनय गर्दा मैले एकपटक पनि ऐनामा हेर्नु परेन।” उनले आफुलाई एउटा युवा केटी आमा बन्दा एकदमै राम्रो महुशस भएको बताउँदै भनिन्, “मैले जुन भूमिका गर्न पाएँ त्यो हो म हुँ । यो चलचित्रले हाम्रो समाजको एकदमै गहन विषयवस्तु उठाएको छ।”

निर्माता सुरेश वाग्लेले चलचित्र मनोरञ्जनको साधन मात्र नभएर यसले समाजलाई बाटो देखाउने काम पनि गर्नुपर्ने बताए। उनले त्यसकारण नै चलचित्र बनाएको बताए। कार्यकारी निर्माता विनोद मानन्धरले यो चलचित्रमा सबैको साथ चाहिएको बताए।

यहि चलचित्रबाट चलचित्र अभिनयमा प्रवेश गरेकी प्रमिला कार्कीले नयाँ भएको कारण अग्रजहरु सँग काम गर्ने आफ्नो ईच्छा रहेको बताइन्। उनले भनिन्, ‘पहिलो चलचित्र नै सबै अग्रज हरु संग काम गर्न पाउँदा एकदमै खुशी छु। उनले आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्देशक सरोज खनाल लाई बिशेष धन्यवाद दिन चाहन्छु।’

बगानमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *