महापुरुषः ९१ वर्षीया वृद्धादेखि एकै परिवारका २८ जनासम्मले हेरे फिल्म, सबैले गरे तारिफ

डिसी नेपाल
१७ कार्तिक २०७९ १२:०२
360
Shares

काठमाडौं। एकल बाको कथामा आधारित ‘महापुरुष’ चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको छ। फिल्म हेर्न हलसम्म परिवार नै लिएर आउने धेरै छन्। हेर्ने जति सबैले फिल्मको तारिफ गरेका छन्।

माउथ पब्लिसिटीका कारण पनि परिवार नै लिएर हलमा जाने धेरै देखिएका छन्। यसले गर्दा फिल्मले बक्स अफिसमा समेत बलियो पकड जमाएको छ।

फिल्मले नेपालसँगै अस्ट्रेलिया र अमेरिकाको विभिन्न सहरमा समेत राम्रो व्यापार गरिरहेको छ। प्रदर्शनको पहिलो साता सकिनै लाग्दा ‘महापुरुष’ टिमले पश्चिम नेपालका विभिन्न सहरहरूमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छ।

फिल्म हेर्न परिवारमै आउनेको संख्या बढिरहेको निर्माता म्याक्स दीपेश खत्रीले जानकारी दिए। ‘हामीले हल भिजिटमा प्रायः फ्याम्ली अडियन्स पाएका छौँ। सुखद पक्ष उहाँहरूलाई फिल्म मन परेको छ’, उनले भने।

एकै परिवारका २८ जनाले हेरे फिल्म

गत शनिवार फिल्म हेर्न एकै परिवारका २८ जना हल पुगेका थिएँ । भक्तपुरमा रहेको क्युएफएक्स सिनेमामा उनीहरूले एकसाथ फिल्म हेरेका हुन्। फिल्म हेरेपछि राम्रो लागेको प्रतिक्रिया निर्माण टिमलाई उनीहरूले दिएका थिए।

यस्तै, विराटनगर महानगरपालिका–१ बाट ४० जनाले फिल्म हेरेका थिएँ । उनीहरू एकै टोलका बासिन्दा रहेको सामाजिक सञ्जालमार्फत नै प्रस्ट्याएका छन्। ‘हामीले उठान गरेको विषयलाई बुझेर हलबाहिरसम्म फिल्मसँगै ल्याउनु भएको छ। मेरो पहिलो सफलता यही हो। हामीले जे भन्न खोजेका थियौं, त्यो दर्शकसम्म पुर्‍यायौ’, निर्देशक प्रदीप भट्टराईले भने।

९१ वर्षीया वृद्धाले हेरिन् फिल्म

बागलुङ स्थायी घर भएकी ९१ वर्षीया भीममाया ओझा लौरो टेक्दै काठमाडौंको बालाजुमा रहेको लोत्से मलस्थित आईएनआई हल पुगेर फिल्म हेरेकी हुन्। उनले फिल्म हेरिसकेपछि निर्माण टिमलाई मन परेको भन्दै आशीर्वादसमेत दिइन्।

उनले शब्दमा व्यक्त गर्न नसकिएको कथा फिल्ममार्फत सबैले बुझ्ने गरी प्रस्तुत भएको प्रतिक्रिया दिएकी थिइन्। ओझा आफ्नो पनातिको भात खुवाइमा सहभागी हुन काठमाडौं आएको मौकामा परिवारसँगै फिल्म हेर्न पुगेकी थिइन्।

दृष्टिविहीनले हेरे फिल्म

ललितपुरस्थित लविम मलमा दुईजना दृष्टिविहीनले फिल्म हेरेका छन्। उनीहरूले गत मंगलवार फिल्म हेरेका हुन् । फिल्म हेरिसकेपछि उनीहरूले निर्माण टिमसँग खुसी व्यक्त गरे । फिल्म हेर्ने रहरले आफूहरू दुई जना मात्र आएको बताएका थिएँ ।

साहित्यकारहरूलाई मन परेको फिल्म

महापुरुषलाई साहित्यकारले पनि उत्तिकै मन पराएका छन्। फिल्म हेरिसकेपछि उपन्यासकार अमर न्यौपानेले फिल्मभित्र विधुरको कथा र व्यथा रहेको उल्लेख गरेका छन्।

‘कथाव्यथालाई असाध्यै कलात्मक तरिकाले घटनाक्रम र संवाद मिलाएर प्रस्तुत गरिएको छ । पटकथा र संवादमा असाध्यै मिहिनेत गरिएको छ। कलाकारहरूको अभिनयले मन हल्लाउँछ। जस्तो अभिनयमा पनि अब्बल हरिवंश आचार्यको आँखामा पीडाको अभिनय सबैभन्दा शसक्त छ । उहाँको अभिनयको शक्ति आँखामा देखिन्छ’, साहित्यकार न्यौपानेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले निर्देशक भट्टराईलाई बलिउड निर्देशक राजकुमार हिरानीको शैली फिल्म तयार गर्न सक्ने निर्देशक भन्दै प्रशंसा गरेका छन्।

फिल्म हेर्दा आफ्नो मनमा गुम्सिएको भावलाई व्यक्त गरेको पाउँदा भावनात्मक भएको लेखक अश्विनी कोइरालाले उल्लेख गरेका छन् । फिल्म हेरेपछि सामाजिक सञ्जालमार्फत उनले आफू एकल पुरुष रहेको र फिल्मले जीवन बाँच्ने हिम्मत दिएको लेखेका छन्।

‘आफ्ना दुःखलाई आफूले जानेको पेसामार्फत भुलाउन सकिन्छ कि भनेर रातोदिन त्यसैमा खटिरहने एकलकाँटे लेखक-सम्पादक हुँ । फिल्म हेरिरहँदा मेरा आँखा रसाइरहे । मैले आफैंलाई बढी हेरिरहेँ’, कोइरालाले उल्लेख गरेका छन्।

कलाकार मनोज गजुरेलले पनि फिल्मको तारिफ गर्दै हेर्न सिफारिस गरेका छन्। ‘एकल बाबाका कथा, ब्यथा, त्याग र योगदानलाई सुन्दर ढंगले पस्कने टिमलाई बधाई। फिल्म हेरुन्जेल फिल्मको कथा बोलिरहेको थिएन, हाम्रै भोगाई व्यक्त भइरहेको थियो। मन र मस्तिष्कलाई एउटै डोरोमा बाँध्नु भएकोमा निर्देशक प्रदीपजीलाई बधाई’, कलाकार गजुरेलले लेखेका छन्।

प्राप्त यस्ता प्रतिक्रियाले आफूहरूलाई थप दायित्वबोध भएको लेखकसमेत रहेका निर्देशक भट्टराईले बताए । ‘हामीप्रति बढिरहेको विश्वासले झनै दायित्व थपेको महसुस भएको छ । हाम्रै सब्जेक्टलाई कलात्मक र व्यावसायिक ढंगले भन्न सकिन्छ । त्यही प्रयास हो महापुरुष’, उनले भने।

कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ आफ्नो टिमको पछिल्लो काममार्फत विश्वास गरेर हलसम्म आएका दर्शकहरूको खुसीले थप ऊर्जा प्रदान गरेको बताए। उनी आफ्नो टिमसहित दाङ र बुटवलसँगै मोफसल यात्रामा छन् । नेपालगन्जबाट सुरू भएको मोफसलमा दर्शक भेटघाट चितवनसम्म चल्नेछ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन्।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ। आदर्शनगरमा बसोबस गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एलक पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ। भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *